ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा ६४ हजार १०६ जनाले मन्दिरमा पुगेर दर्शन गरेका हुन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २१ हजार ८४५ ले बढी हो। गत वर्ष कात्तिकमा ४२ हजार २६१ जना तीर्थयात्री पाथीभरा पुगेका थिए।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार कात्तिक महिनाको अन्तिम शनिबार सबैभन्दा बढी ११ हजार २७२ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए। त्यस्तै, कात्तिक १७ गते एकै दिन १० हजार ६१६ जना तीर्थयात्री पाथीभरा पुगेका थिए।
पछिल्लो तीन वर्षयताकै एकै दिन मन्दिर दर्शन गर्ने भक्तजनको यो सबैभन्दा ठूलो संख्या हो।
समुद्री सतहबाट ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न काफ्लेपार्टीबाट कम्तीमा पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ। त्यस्तै, सुकेटारदेखि काफ्लेपार्टीसम्मको करिब १२ किलोमिटर सडक कच्ची छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको पाथीभरामा हरेक वर्ष नेपालसहित भारतका विभिन्न क्षेत्रबाट समेत भक्तजन दर्शनका लागि पुग्ने गरेका छन्।
कात्तिक महिनामा तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढेसँगै पाथीभरा क्षेत्रको धार्मिक पर्यटनमा चहलपहल बढेको देखिएको छ।
