ताप्लेजुङ । मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति ले पाथीभरा केवलकार निर्माणविरुद्ध पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमा बुधबार पत्रकार सम्मेलन गर्दै ‘नो केवलकार’ समूहले जनचेतना अभियानदेखि विरोध प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका तर्फबाट खगेन्द्र फेम्बु लिम्बूले ५ जेठमा राजनीतिक दलहरूसँग छलफल तथा अन्तरक्रिया, ७ जेठमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ९ जेठमा विभिन्न संघसंस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
त्यसैगरी ११ जेठमा कालो झण्डासहित कोणसभा तथा प्रदर्शन, १६ जेठमा फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र १७ जेठमा मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।
समितिले सरकारले प्रशासनलाई निर्माण कार्य रोक्न निर्देशन दिए पनि त्यसको बेवास्ता गर्दै काम जारी राखिएको आरोप लगाएको छ ।
वन फँडानी, जग्गा किनबेचमा ठगी, भ्रष्टाचार तथा अनियमितता भएको दाबी गर्दै समितिले केवलकार निर्माण कार्य तत्काल रोक्न र घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएको छ ।
