काठमाडौं । शनिबार बिहान काठमाडौंको रञ्जना सिनेमा हलमा चलचित्रको प्रचार कार्यक्रम चलिरहेका बेला एकाएक प्रहरी प्रवेश गर्यो ।
प्रहरीले अभिनेत्री गौरी मल्लसहित चलचित्रका कलाकार तथा निर्माण टिमका सदस्यलाई नियन्त्रणमा लिएर हलबाट बाहिर निकाल्यो ।
हास्य ड्रामा चलचित्र ‘क का कि की’ को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम चलिरहेका बेला यस्तो दृश्य देखिएको थियो । मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रचारका लागि कलाकार तथा निर्माण टिमका सदस्यहरू हलमा भेला भएका थिए ।
कार्यक्रममा ट्रेलर सार्वजनिक भइसकेपछि कलाकारहरूले चलचित्रबारे आफ्ना धारणा राखिरहेका थिए । त्यही बेला केही प्रहरी जवान अचानक हलभित्र प्रवेश गरे र कलाकारहरूलाई समातेर बाहिर निकाल्न थाले ।
एकाएक प्रहरी आएर कलाकारलाई नियन्त्रणमा लिएपछि कार्यक्रममा सहभागी दर्शकहरू अचम्ममा परे । चलचित्रको प्रचार कार्यक्रममा प्रहरी किन आयो भन्ने जिज्ञासा पनि उत्पन्न भयो ।
तर, यो कुनै वास्तविक पक्राउ थिएन । दर्शकको ध्यान खिच्न र चलचित्रप्रति कौतूहल जगाउन निर्माण टिमले तयार पारेको पूर्वयोजनाअनुसारको नाटकीय प्रस्तुति थियो ।
यसअघि पनि चलचित्रको प्रचारका क्रममा कलाकारहरू चलचित्रकै पहिरनमा बन्दुक बोकेर सार्वजनिक कार्यक्रममा पुगेका थिए । यसपटक भने प्रहरीको प्रवेश र कलाकारलाई नियन्त्रणमा लिएको दृश्यमार्फत प्रचार गरिएको हो ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रमलाई नै नाटकीय बनाउँदै निर्माण टिमले दर्शकमाझ फरक शैलीमा प्रचार गर्ने प्रयास गरेको छ ।
