Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

दोलखा र मनाङमा एआई डेटा सेन्टर बनाउने प्रस्ताव, ५० अर्ब लगानीको खोजी

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २४, २०८३  | अपराह्न २:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हिमाली क्षेत्रको चिसो हावा र स्थानीय जलविद्युत् उपयोग गरी दोलखाको रोल्वालिङ उपत्यका र मनाङमा कृत्रिम बुद्धिमत्ता (एआई) का लागि डेटा सेन्टर स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ।

दुवै स्थानलाई एउटै आयोजनाअन्तर्गत चरणबद्ध रूपमा विकास गर्ने प्रारम्भिक योजना छ। यसको अनुमानित लागत ५० अर्ब रुपैयाँ छ। लगानी भने जुट्न बाँकी छ।

विज्ञापन

एआई मोडेललाई तालिम दिन ठूलो परिमाणमा तथ्यांक प्रशोधन गर्नुपर्छ। यसका लागि एकैसाथ चल्ने शक्तिशाली सर्भरले धेरै ताप निकाल्छन्। सर्भरलाई चिसो राख्न पनि बिजुली चाहिन्छ। रोल्वालिङ र मनाङमा बाहिरकै चिसो हावा प्रयोग गर्न सकिने भएकाले वर्षको ठूलो भागमा विद्युतीय शीतलन प्रणालीको खर्च घट्ने अपेक्षा गरिएको छ। रोल्वालिङ नजिक तामाकोशी र मनाङमा मर्स्याङ्दी नदी क्षेत्रका जलविद्युत् आयोजना हुनु यी स्थान प्रस्ताव गर्नुको अर्को कारण हो।

प्रारम्भिक खाकामा दुवै केन्द्रको संयुक्त क्षमता ४० देखि ५५ मेगावाटसम्म परिकल्पना गरिएको छ। यो डेटा सेन्टर सञ्चालनसँग सम्बन्धित अनुमान हो। कुन स्थानमा कति क्षमताको केन्द्र बनाउने र त्यसका लागि कति बिजुली उपलब्ध गराउन सकिन्छ भन्ने टुंगो लाग्न बाँकी छ। मनाङमा उपयुक्त स्थल पहिचानसँगै भरपर्दो उच्च गतिको फाइबर इन्टरनेट र सडक पहुँच जुटाउनु पनि चुनौती छ।

आयोजनालाई सार्वजनिक–निजी साझेदारीमा अघि बढाउने प्रस्ताव छ। आगामी डिसेम्बर ९ र १० मा काठमाडौंमा हुने नेपाल पूर्वाधार सम्मेलनका लागि छनोट गरिएका २३ आयोजनामध्ये यो पनि एक हो। दुवै स्थानको सम्भाव्यता, आवश्यक पूर्वाधार र वित्तीय व्यवस्था टुंगिएपछि मात्रै निर्माणको बाटो खुल्नेछ।

योजना कार्यान्वयन भए नेपालले स्वदेशी कम्पनीलाई देशभित्रै डेटा प्रशोधन सेवा दिनुका साथै विदेशी ग्राहकका एआई मोडेललाई तालिम दिन आवश्यक कम्प्युटिङ सेवा पनि बेच्न सक्नेछ। त्यसले जलविद्युत्का लागि नयाँ बजार खोल्नुका साथै हिमाली जिल्लामै नेटवर्क इन्जिनियरिङ र सर्भर सञ्चालनसम्बन्धी प्राविधिक रोजगारी सिर्जना गर्न सक्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka