विराटनगर । मैथिली अनलाइनको ब्यानरमा निर्माण भइरहेको ‘जयजय हे जय सूर्यदेव, जयजय हे छठी माता’ बोलको नेपाली भाषाको छठी भजन गीतको छायांकन सम्पन्न भएको छ। भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो मैथिली अनलाइनको तेस्रो नेपाली छठी भजन हो।
गत बुधबार विराटनगर–पोखरियास्थित सिंघिया खोला किनारमा गीतको म्युजिक भिडियो छायांकन गरिएको हो। हाल गीतको दृश्य सम्पादनको काम भइरहेको निर्माण पक्षले जनाएको छ। आगामी एक–दुई दिनभित्रै मैथिली अनलाइनको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्ने तयारी छ।
गीतका शब्द विराटनगरका पत्रकार तथा मैथिली अनलाइनका सञ्चालक नवीन कर्णले लेखेका हुन्। गीतमा वरिष्ठ संगीतकार शैलेन्द्र विश्वकर्माले संगीत दिएका छन् भने राष्ट्रिय गायक नितिन गजुरेल र विराटनगरकी चर्चित गायिका निशा पोद्दारले स्वर दिएका छन्। त्यस्तै, स्वर संगम संगीतालयका संगीत साधकद्वय माही अटल र आरजु बोहराले सहगायिकाका रूपमा स्वर दिएका छन्।
विराटनगरस्थित बिट्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङको काम काठमाडौंका संगीत संयोजक सुरज श्रेष्ठले गरिरहेका छन्।
गीतको म्युजिक भिडियोमा विराटनगरका धर्मप्रेमी ललकु सहनी, सुनिता सहनी र ज्योति सहनीसहित एक दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा सम्पादन कात्तिक राजवंशीले गरेका छन् भने छायांकन धिरेन साह र शृंगार अशोक मण्डलको रहेको छ।
गीतमा मानव जीवनमा सूर्यदेवको महत्त्व र प्रभावसँगै छठी भगवतीप्रतिको आस्था र भक्तिभावलाई समेटिएको रचनाकार कर्णले जानकारी दिए। नेपाली भाषामा छठी भजनको अभावलाई मध्यनजर गर्दै मैथिली अनलाइनले नेपाली भाषामा तेस्रो भजन सार्वजनिक गर्न लागेको उनले बताए।
भजन निर्माणका क्रममा छठी पर्वको पारम्परिक, विशिष्ट र मौलिक धुन तथा लयलाई विशेष ध्यान दिइएको कर्णको भनाइ छ। गीतको संगीत र लय सुन्नेबित्तिकै श्रोता तथा दर्शकले छठी पर्वको मौलिक भाव र अनुभूति गर्न सक्ने उनको विश्वास छ।
यसअघि मैथिली अनलाइनले २०८२ कात्तिकमा ‘अञ्जुली भरि जल लिई आयौँ हे माता’ बोलको पहिलो नेपाली छठी भजन सार्वजनिक गरेको थियो। त्यसैगरी, सोही वर्षको चैती छठका अवसरमा ‘माता कल्याणी तिमी हौ मिथिलेश्वरी’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको थियो।
पहिलो गीतमा ईशा यादव र किरण ब्यासले अभिनय गरेका थिए भने दोस्रो गीतमा तत्कालीन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र उनकी पत्नी रञ्जिता पराजुलीले अभिनय गरेका थिए।
