काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिएका छन् ।
कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । अध्ययनका क्रममा रहेकाले बिहीबार दर्ता हुन नसकेको निवेदन शुक्रबार दर्ता भएको हो ।
तिहार बिदा र त्यसपछिको सार्वजनिक बिदाका कारण कात्तिक ३० गतेका लागि पेसी तोकिएको हो । कात्तिक २२ देखि २६ गतेसम्म तिहार बिदा छ भने २७ गते एक दिन मात्रै अदालत खुल्नेछ । त्यसपछि २८ र २९ गते साप्ताहिक बिदा परेको छ ।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाउँदै मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । केसीले सोही दिनदेखि कार्यभार सम्हालिसकेका छन् । कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइए पनि उनले नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्को पत्र भने बुझिसकेका छैनन् ।
सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले आईजीपी पदमा पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी मनोज केसीलाई विपक्षी बनाइएको छ ।
कार्कीले आफूलाई अर्को पदमा नियुक्त गर्ने बहानामा आईजीपीबाट हटाउने सरकारको निर्णय वस्तुनिष्ठ आधारविहीन र बदनियतपूर्ण रहेको जिकिर गरेका छन् । उनले उक्त निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षककै जिम्मेवारीमा कायम गर्न माग गरेका छन् ।
कार्कीलाई २०८२ कात्तिक २७ गते प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । तर, नियुक्तिको एक वर्ष नपुग्दै सरकारले उनलाई पदबाट हटाएको हो ।
