काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको भन्दै विभिन्न चर्चा भइरहेका बेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भने त्यस्तो कुनै आदेश प्राप्त नभएको स्पष्ट पारेको छ ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले नेपाल प्रेससँगको कुराकानीमा आफू र आफ्नो कार्यालयलाई थापालाई पक्राउ गर्ने विषयमा कुनै निर्देशन वा आदेश नआएको बताएका छन् । अन्य निकायमा यसबारे कुनै सूचना वा गतिविधि भए त्यसबारे आफूलाई जानकारी नहुने उनको भनाइ छ ।
यता, कांग्रेस सभापति थापाको सचिवालयले भने पछिल्ला दुई दिनदेखि सादा पोशाकका अपरिचित व्यक्तिहरूले निगरानी बढाएको दाबी गरेको छ । सचिवालयका एक सदस्यका अनुसार केही अपरिचित व्यक्ति मोटरसाइकलमा थापाको पछिपछि लाग्ने गरेका छन् । राइड सेयरिङ सेवामा प्रयोग हुनेजस्ता देखिने मोटरसाइकलहरू उनको आसपास घुमिरहेको उनले बताएका छन् ।
त्यस्तै, ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा समेत सादा पोशाकका अपरिचित व्यक्तिहरूको आवतजावत बढेको सचिवालयको भनाइ छ ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार, बुधबार पदमुक्त गरिएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा रहँदै ‘माथिको आदेश’ भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापामाथि निगरानी राख्न निर्देशन दिएका थिए ।
तर, बिहीबार बिहान कार्यालय समय सुरु भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीहरूलाई गरेको ब्रिफिङमा त्यस्तो कुनै निर्देशनबारे उल्लेख नगरेको बताइएको छ । बुधबारको ब्रिफिङमा समेत यस विषयमा कुनै निर्देशन नदिइएको प्रहरी स्रोतको भनाइ छ ।
