काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दानबहादुर कार्की अदालत जाने भएका छन् ।
सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफू निकट व्यक्तिहरूसँग कानुनी लडाइँमा जाने प्रतिक्रिया दिएको उनीनिकट विश्वस्त स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।
स्रोतका अनुसार कार्कीले सरकारले पहिलेदेखि नै आफूलाई काम गर्न नदिएको र विभिन्न रूपमा अप्ठ्यारो पार्दै आएको बताएका छन् ।
‘यो सरकारले पहिलेदेखि नै काम गर्न दिएको थिएन । अप्ठ्यारो पारिरहेको थियो । अब कानुनी लडाइँमा जान्छु,’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।
यसअघि भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयसँगै कार्कीले त्यसविरुद्ध अदालत जाने तयारी गरेका हुन् ।
