Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकी मध्यावधि चुनावमा ट्रम्पलाई धक्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १८, २०८३  | अपराह्न २:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले पराजय व्यहोरेको छ । विपक्षी डेमोक्रेटिक पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) दुवैमा बहुमत हासिल गरेको छ ।

प्रारम्भिक चुनावी नतिजाअनुसार तल्लो सदनका ४३५ सिटमध्ये डेमोक्रेटिक पार्टीले २२७ सिटमा अग्रता बनाएको छ । ट्रम्पको रिपब्लिकन पार्टी भने १४२ सिटमा अगाडि छ ।

विज्ञापन

सिनेटका कुल १०० सिटमध्ये यसपटक ३५ सिटका लागि निर्वाचन भएको थियो । हालसम्म सार्वजनिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले १९ र रिपब्लिकन पार्टीले १२ सिट जितेका छन् । बाँकी चार सिटको मतगणना जारी छ । समग्रमा सिनेटमा डेमोक्र्याटको ५३ र रिपब्लिकनको ४३ सिट पुगेको उल्लेख गरिएको छ ।

यस निर्वाचनमा कन्सासमा पनि ऐतिहासिक परिणाम आएको छ । करिब एक शताब्दिपछि डेमोक्रेटिक पार्टीले त्यहाँ जित हासिल गरेको दाबी गरिएको छ । सन् १९३२ पछि पहिलोपटक डेमोक्रेटिक उम्मेदवार एडम ह्यामिल्टनले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर रोजर मार्सललाई पराजित गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, मिसिगनबाट डेमोक्रेटिक उम्मेदवार अब्दुल अल–सइद विजयी भएको र उनी अमेरिकी इतिहासमा सिनेटर निर्वाचित हुने पहिलो मुस्लिम बनेको दाबी गरिएको छ ।

गभर्नर पदका लागि भएका निर्वाचनमध्ये ३१ राज्यको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीले २० र रिपब्लिकन पार्टीले ११ स्थानमा जित हासिल गरेको छ । बाँकी पाँच राज्यको मतगणना जारी छ ।

अमेरिकी जनताले युद्धविरुद्ध मतदान गरेको इरानी सभामुखको टिप्पणी

अमेरिकी चुनावी नतिजाबारे प्रतिक्रिया दिँदै इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी जनताले युद्ध नचाहेको सन्देश दिएको बताएका छन् ।

उनका अनुसार अमेरिकी मतदाताले आफ्नो विवेक र दैनिक जीविकोपार्जनसँग जोडिएका विषयलाई प्राथमिकता दिँदै युद्धको विपक्षमा मतदान गरेका हुन् ।

एलजीबीटीक्यू मतदाताको ठूलो समर्थन डेमोक्र्याटलाई

एनबीसी न्युजको एक्जिट पोलअनुसार ८६ प्रतिशत एलजीबीटीक्यू मतदाताले तल्लो सदनमा डेमोक्रेटिक उम्मेदवारलाई समर्थन गरेका छन् । रिपब्लिकन उम्मेदवारलाई भने १२ प्रतिशतले मात्र मतदान गरेको तथ्यांकमा उल्लेख छ ।

मिसिगनबाट निर्वाचित भएको दाबी गरिएका अब्दुल अल–सइदले चुनावी सम्बोधनका क्रममा आफ्नो नाम र धर्मलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन् । चुनाव प्रचारका क्रममा उनलाई आतंकवादसँग जोड्ने प्रयास भएको उनको भनाइ थियो ।

उनले ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्सप्रति व्यंग्य गर्दै भने, ‘तपाईंहरूलाई मेरो नाम उच्चारण गर्न कठिन हुन सक्छ । त्यसैले जनवरीमा सिनेटरको शपथ लिएपछि मलाई सिनेटर भनेर सम्बोधन गर्न सक्नुहुन्छ ।’

अश्वेत र एसियाली मतदाताको समर्थन पनि डेमोक्र्याटलाई

निर्वाचनसम्बन्धी तथ्यांकअनुसार अश्वेत तथा एसियाली मूलका मतदाताले डेमोक्रेटिक पार्टीलाई बढी समर्थन गरेका छन् ।

पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीको जितलाई स्वागत गर्दै अमेरिकी जनताले विभाजनकारी नभई एकतामूलक राजनीति चाहेको सन्देश दिएको बताएका छन् ।

ट्रम्प प्रशासनको कार्यकालमा अझै दुई वर्ष बाँकी रहेकाले डेमोक्रेटिक पार्टीले देशको भविष्यका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने ओबामाको भनाइ छ ।

ट्रम्पको शक्ति सीमित हुने आकलन

दुवै सदनमा डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम भएमा राष्ट्रपति ट्रम्पलाई आगामी दुई वर्ष सरकार सञ्चालन गर्न चुनौती थपिनेछ । संसद्मा बहुमत गुमाउँदा उनले अघि सारेका नीति तथा कार्यक्रम पारित गराउन कठिन हुने देखिन्छ ।

त्यस्तै, डेमोक्रेटिक पार्टीले ट्रम्पविरुद्ध पुनः महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि ट्रम्पले डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । तर, उनले चुनावी हारको दोष फक्स न्युजमाथि लगाएका छन् । फक्स न्युजले लगातार डेमोक्रेटिक नेताहरूलाई प्राथमिकता दिएको उनको आरोप छ ।

ट्रम्पले इरानसँग युद्धको सम्भावना र इन्धनको मूल्यवृद्धिले समेत निर्वाचन परिणाम प्रभावित पारेको स्वीकार गरेको विवरणमा उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka