काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा जापानमा रहेको उनको सम्पत्ति र परिवारका सदस्यको स्थायी आवासीय अनुमति (पीआर) सम्बन्धमा प्रश्न उठेपछि उनले सोमबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
गत असोज २८ गते संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा थापाको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति तथा परिवारका सदस्यको पीआरबारे सांसदहरूले प्रश्न उठाएका थिए ।
त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग थापासम्बन्धी थप जानकारी माग गरेको थियो । तर, जापान सरकारबाट आवश्यक विवरण प्राप्त नभएपछि उनले राजदूतका लागि प्रस्तावित आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन् ।
नाम फिर्ता लिने सम्बन्धमा थापाले संसदीय सुनुवाइ समितिलाई पत्र पठाएका थिए । समितिका सभापति बोधनारायण श्रेष्ठले बैठकमा उक्त पत्र पढेर सुनाएका थिए ।
