काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको अवरोध हटाउन नेपालले विभिन्न विकल्पमाथि छलफल अघि बढाएको छ ।
मलेसियाले विदेशी श्रमिक भर्नाका लागि लागू गरेको नयाँ प्रणालीमा निश्चित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक पठाउनुपर्ने व्यवस्था गरेपछि नेपालबाट हुने श्रमिक आपूर्ति प्रभावित भएको हो ।
मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मुख्य (प्रिन्सिपल) र २५० वटा कम्पनीलाई सहायक (एसोसिएट) एजेन्सीका रूपमा सूचीकृत गरेको छ । यही सूचीमा रहेका कम्पनीमार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने मलेसियाको तयारी छ ।
मलेसियाले एफडब्लूसीएमएसबाहेक अन्य प्रणालीबाट श्रमिक भर्ना गर्न नसकिने जवाफ नेपाललाई दिइसकेको छ । तर, नेपालले निश्चित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक पठाउने व्यवस्था नेपालको श्रम कानुन, नेपाल–मलेसिया श्रम सम्झौता र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुकूल नहुने अडान राख्दै आएको छ ।
दुई देशबीच यही विषयमा सहमति जुट्न नसक्दा मलेसियामा नेपाली श्रमिक जाने प्रक्रिया अनिश्चित बनेको छ ।
समस्या समाधानका लागि नेपालले कूटनीतिक पहललाई तीव्रता दिएको छ । यसैक्रममा नेपालले मलेसिया सरकारसँग संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्न प्रस्ताव गरेको छ ।
नेपालले आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा बैठक बस्ने गरी प्रस्ताव अघि सारेको हो । उक्त बैठकमा श्रमिक भर्ना प्रक्रियामा देखिएको विवाद समाधानका साथै सन् २०१८ मा दुई देशबीच भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) नवीकरणका विषयमा समेत छलफल गर्ने नेपालको तयारी छ ।
मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुकमध्ये एक हो । त्यसैले भर्ना प्रक्रियामा देखिएको विवाद छिटो समाधान गरी रोजगारीको अवसर निरन्तर कायम राख्नुपर्ने दबाब नेपाल सरकारमाथि छ ।
म्यानपावर कम्पनी छनोटको विषयमा दुवै देश आ–आफ्नो अडानमा कायम रहेकाले अब हुने कूटनीतिक वार्ताले मलेसिया रोजगारीको भविष्य निर्धारण गर्ने देखिएको छ ।
