Premier Cables
Premier Steel

राष्ट्रिय

मोरङमा मृत भनेर दाहसंस्कार गरिएका व्यक्ति जिउँदै घर फर्किएपछि प्रहरी अचम्ममा

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८३  | अपराह्न १२:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले दाहसंस्कार गरिसकेका मोरङका एक व्यक्ति जिउँदै घर फर्किएका छन्। लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई घर फर्किएपछि प्रहरीले दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचानबारे पुनः अनुसन्धान थालेको छ।

गत जेठ २६ गते बिहान साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा जेठ २७ गते उनको मृत्यु भएको थियो।

विज्ञापन

मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन्।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएपछि परिवारले विधिपूर्वक दाहसंस्कार गरेको थियो। परिवारले दुर्घटना बीमाबापतको रकमसमेत प्राप्त गरिसकेको जनाइएको छ।

तर, मृत भनिएका पदमबहादुर अचानक घर फर्किएपछि घटनाले नयाँ मोड लिएको छ।

मोरङका प्रहरी प्रमुख काविद कटुवालका अनुसार पदमबहादुर घर फर्किएको जानकारी आएपछि परिवारलाई बिहीबार कोशी अस्पतालमा बोलाइएको छ। अब प्रहरीले शव सनाखतका क्रममा तयार पारिएका कागजात फिर्ता लिने र दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचान तथा खोजी गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

प्रहरीका अनुसार पदमबहादुर २०८२ माघदेखि घरमा थिएनन्। उनी परिवार र आफन्तलाई जानकारी नदिई घर छाडेर हिँडेका थिए। आफ्नै छोराजस्तो देखिएकाले आमाले शवको सनाखत गरेको हुन सक्ने प्रहरी प्रमुख कटुवालले बताएका छन्।

घर फर्किएका पदमबहादुरले आफू यतिबेला भारतमा रहेको दाबी गरेका छन्। उनको दाबी र दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचानबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka