काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।
यस जितसँगै लुम्बिनीले एनपीएलको लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित दर्ता गरेको छ । यसअघि प्रतियोगिताका दुई संस्करणमा आमनेसामने हुँदा लुम्बिनीले सुदूरपश्चिमलाई हराउन सकेको थिएन ।
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । सहज लक्ष्य पछ्याएको लुम्बिनीले आक्रामक ब्याटिङ गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो । टोलीका प्रमुख ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा सुदूरपश्चिमले कमजोर योगफल बनाएको हो ।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । अनिल खरेलले १५ र ओपनर सैफ जैबले १३ रन जोडे । अर्का ओपनर विनोद भण्डारी नौ रनमा आउट भए । इशान पाण्डेले सात, अभिनाश बोहराले तीन, ब्रान्डन म्याकमुलेनले दुई र शेरफन रदरफोर्डले एक रन बनाए । आरिफ शेख, हेमन्त धामी र स्कट कुगेलेइन भने खाता नखोली पभेलियन फर्किए ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे । किशोरले चार ओभरमा २२ रन खर्चेर चार विकेट लिए भने शेरले चार ओभरमा ११ रन दिँदै तीन विकेट हात पारे । तिलक भण्डारी, कप्तान रोहित पौडेल र शाड्ली भान शाल्विकले समान एक विकेट लिए ।
लुम्बिनीको यस प्रदर्शनले गत संस्करणको फाइनलको झल्को दिएको छ । अघिल्लो सिजन पनि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा समेट्दै उपाधि जितेको थियो ।
यस खेलमा एनपीएलको तेस्रो संस्करणमा पहिलो पटक डीआरएस प्रणाली प्रयोग गरिएको थियो । खेलका क्रममा कुल पाँच पटक डीआरएस अपिल गरिएको थियो ।
जितसँगै लुम्बिनीले प्रतियोगितामा दुई अंक जोडेको छ । लुम्बिनीले आफ्नो दोस्रो खेलमा अक्टोबर ३१ मा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । पराजयबाट प्रतियोगिताको सुरुआत गरेको सुदूरपश्चिमले अक्टोबर २८ मा पोखरा एभेन्जर्सको सामना गर्नेछ ।
