विराटनगर । उद्योग संगठन मोरङले उद्योग व्यवसाय क्षेत्रमा देखिएका नीतिगत जटिलता, उत्पादन लागत वृद्धि, निर्यातमा अवरोध तथा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको ध्यानाकर्षण गराएको छ ।
संगठनको कार्यालयमा आयोजित छलफलमा रास्वपाका अर्थ विभाग प्रमुख लिमा अधिकारीले उद्योगी व्यवसायीका समस्या समाधानका लागि पार्टी तथा संसद्मार्फत आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले निजी क्षेत्रसँग निरन्तर संवाद कायम राख्ने पनि बताएकी छन् ।
छलफलमा उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक तथा नीतिगत समस्या प्रस्तुत गर्दै औद्योगिक विकास, उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनका लागि आवश्यक सुधारका विषय उठाएका थिए ।
उनले हुलाकी राजमार्गको कटहरी–विराटनगर खण्ड निर्माणमा भइरहेको ढिलाइ, गुणस्तरीय विद्युत् आपूर्ति, उधारो कारोबार व्यवस्थापनका लागि छुट्टै ऐन निर्माण, चेक अनादरसम्बन्धी व्यवस्था र कर्जा प्रक्रियालाई सरल बनाउनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै, जीआई तार उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क हटाउनुपर्ने, विद्युत्मा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) पुनरावलोकन गर्नुपर्ने, ठूला परियोजनामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने तथा वातावरणीय अध्ययन प्रक्रिया सरल बनाउनुपर्ने माग पनि प्रस्तुत गरिएको थियो ।
आईसीपी कार्गो रेल नियमित सञ्चालन, खुला सिमानाको प्रभावकारी व्यवस्थापन र निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोणसहित लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने विषयसमेत छलफलमा उठाइएको संगठनले जनाएको छ ।
कार्यक्रममा जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले नेपाली जुट उद्योगको निर्यातमा देखिएका समस्या तथा भारतको पछिल्लो निर्णयबाट उद्योगमा पर्न सक्ने असरबारे जानकारी गराएका थिए । उनले जुट उद्योगको संरक्षण र निर्यातसम्बन्धी समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष सुरेन्द्र गोल्छा तथा कार्यसमिति सदस्यहरू सृजन प्याकुरेल, किरण व्यास र सन्तोष भगतलगायतले उद्योग व्यवसायका समस्या र नीतिगत सुधारका सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रास्वपाका अर्थ विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य रोहन कार्की, केन्द्रीय सदस्य विजय जैरु र निशा श्रेष्ठ, संघीय संसद् सदस्य रुबिना आचार्य तथा रास्वपा मोरङ जिल्ला सचिव दिवश नेपाललगायतको सहभागिता थियो ।
उद्योग संगठन मोरङले उद्योगी व्यवसायीका समस्या पहिचान, प्रमाणमा आधारित नीतिगत पैरवी तथा राजनीतिक दल र सरकारसँग रचनात्मक संवादमार्फत औद्योगिक विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणका लागि आफ्नो पहललाई निरन्तरता दिने जनाएको छ ।
