काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ। ‘अर्नब’ नाम दिइएको उक्त चक्रवातको प्रभावले नेपालमा पनि बिहीबारदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
भारतको मौसम विज्ञान विभागले सोमबार (कात्तिक ९) नेपाली समयअनुसार बिहान ५ः३० बजे उक्त प्रणाली चक्रवातमा परिणत भएको पुष्टि गरेको पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले जनाएका छन्। चक्रवातको नाम ‘अर्नब’ बंगलादेशले प्रस्ताव गरेको हो।
उपाध्यायका अनुसार चक्रवात मंगलबार मध्याह्नतिर भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। त्यस क्षेत्रमा रहेका अन्य वर्षा प्रणालीसँग मिसिएर यो प्रणाली उत्तरतर्फ अघि बढ्दै नेपालसम्म आइपुग्ने सम्भावना रहेको उनले बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार रातिसम्म उक्त प्रणाली नेपालमा प्रवेश गर्न सक्ने र बिहीबारदेखि वर्षा सुरु हुने जानकारी दिएका छन्। नेपालका मौसमसम्बन्धी निकायले पनि वर्षाको सम्भावनाबारे जानकारी गराइसकेको उनको भनाइ छ।
चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबारदेखि देशका विभिन्न भागमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र पूर्वी लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउन उपाध्यायले आग्रह गरेका छन्।
उनका अनुसार चक्रवातको शक्ति र ऊर्जाका आधारमा देशका केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा व्यापक हिमपातसमेत हुन सक्ने सम्भावना छ। त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।
