फायल फोटो
काठमाडौं । गत बिहीबारदेखि अवरुद्ध बनेका नेपालका सरकारी वेबसाइटहरू क्रमशः सञ्चालनमा आउन थालेका छन्। ‘पीएचपी’मा देखिएको सुरक्षा कमजोरीका कारण बन्द भएका वेबसाइटहरू सुरक्षा सुधारको काम पूरा भएसँगै पुनः सञ्चालनमा आउन थालेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार ‘पीएचपी२सेल’सँग सम्बन्धित सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा प्याचिङ, परीक्षण तथा प्रमाणीकरणको काम सम्पन्न भएपछि सरकारी अनलाइन सेवाहरू सुचारु भएका हुन्।
केन्द्रका अनुसार हालसम्म एक हजारभन्दा बढी डोमेन पुनः सञ्चालनमा ल्याइसकिएको छ। ती डोमेनहरू सामान्य अवस्थामा सञ्चालन भइरहेका छन्। अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वेबसाइट तथा अनलाइन सेवासमेत सञ्चालनमा आइसकेका छन्।
अझै सञ्चालनमा आउन बाँकी रहेका वेबसाइट तथा सेवाहरूलाई पूर्ण रूपमा सुचारु गर्न कर्मचारीहरू तीव्र रूपमा खटिरहेको केन्द्रले जनाएको छ।
