काठमाडौं । आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएलमा सहभागी हुने प्रत्येक पाकिस्तानी खेलाडीका लागि थप २५ हजार अमेरिकी डलर मागेपछि उनीहरूको सहभागितामा अन्योल सिर्जना भएको हो।
पीसीबीले माग गरेको अतिरिक्त रकम नेपाली रुपैयाँमा ३५ लाखभन्दा बढी हुन्छ। प्रतियोगितामा सहभागी फ्रेन्चाइजहरूले उक्त रकम तिर्नुपर्ने अवस्था आएपछि पाकिस्तानी खेलाडीलाई टोलीमा समावेश गर्न कठिन हुने देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पीसीबीसँग यस विषयमा छलफल गरे पनि सहमति जुट्न नसकेको बुझिएको छ।
क्यानका सचिव पारस खड्काले पीसीबीको माग फ्रेन्चाइजहरूका लागि पूरा गर्न कठिन हुने बताएका छन्। उनले यसपटकको एनपीएलमा पाकिस्तानी खेलाडीहरू सहभागी हुने सम्भावना कम रहेको जानकारी दिए।
‘उहाँहरूले (पीसीबी) २५ हजार डलर माग्नुभएको छ। धेरै खेलाडी एनओसी लिएर नै आइसक्नुभएको थियो। अन्तिम क्षणमा यस्तो किन गरियो, हामीले पनि बुझ्न सकेका छैनौँ,’ खड्काले भने।
उनका अनुसार अब पाकिस्तानी खेलाडीलाई खेलाउने वा नखेलाउने भन्ने निर्णय सम्बन्धित फ्रेन्चाइजहरूले नै गर्नुपर्नेछ। पीसीबीले अनापत्ति प्रमाणपत्र (एनओसी) रोकेको अवस्थामा पाकिस्तानी खेलाडीहरू प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। नेपाल आइसकेका खेलाडीसमेत फर्किनुपर्ने अवस्था आउन सक्ने खड्काले बताए।
एनपीएलका लागि अनुबन्ध भएका अधिकांश पाकिस्तानी खेलाडीले आफ्नो क्रिकेट बोर्डबाट एनओसी लिएर नेपाल आइसकेका छन्। तर प्रतियोगिता सुरु हुनै लाग्दा अतिरिक्त शुल्कको सर्त अघि सारिएपछि उनीहरूको सहभागितामै प्रश्न उठेको छ। यस विषयमा पीसीबीले भने सार्वजनिक रूपमा आफ्नो धारणा राखिसकेको छैन।
खेलाडी छनोट र अनुबन्धको प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा थप आर्थिक सर्त राखिनु अनुचित भएको एक फ्रेन्चाइज मालिकले बताएका छन्।
उनका अनुसार टोलीको बजेट, खेलाडीको पारिश्रमिक र प्रतियोगिताको तयारी पहिल्यै तय भइसकेको हुन्छ। यस्तो अवस्थामा प्रतिखेलाडी थप २५ हजार डलर तिर्नुपर्ने सर्त स्वीकार गर्न कठिन हुने उनको भनाइ छ। केही पाकिस्तानी खेलाडीले उक्त रकमभन्दा कम पारिश्रमिकमा समेत सम्झौता गरेको हुन सक्ने उनले बताए।
विदेशी लिगमा आफ्ना खेलाडी सहभागी गराउँदा राष्ट्रिय क्रिकेट बोर्डले अनुमति तथा शुल्कसम्बन्धी नीति बनाउन सक्छ। तर खेलाडी अनुबन्ध भइसकेपछि र एनओसीसमेत जारी गरिसकेपछि प्रतियोगिता सुरु हुनै लाग्दा नयाँ आर्थिक सर्त अघि सारिनुले पीसीबीको व्यावसायिक व्यवहारमाथि प्रश्न उठाएको छ।
एनओसीबिना अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त लिगमा विदेशी खेलाडी सहभागी गराउन कठिन हुने भएकाले फ्रेन्चाइजहरू थप समस्यामा परेका छन्। अतिरिक्त शुल्क तिर्न नसक्ने अवस्थामा उनीहरूले पाकिस्तानी खेलाडीको स्थानमा अन्य देशका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन सक्छ।
कुन फ्रेन्चाइजमा छन् पाकिस्तानी खेलाडी?
यसपटकको एनपीएलमा सात पाकिस्तानी खेलाडी चार फ्रेन्चाइजमा अनुबन्ध भएका छन्।
– कर्णाली याक्स: साहिबजादा फरहान र हुसेन तलात
– जनकपुर बोल्ट्स: इफ्तिखार अहमद र हुनैन शाह
– चितवन राइनोज: हसन अली र उसामा मिर
– सुदूरपश्चिम रोयल्स: हैदर अली
पीसीबीको अतिरिक्त शुल्कसम्बन्धी सर्तमा सहमति नजुटे यी सातै खेलाडीको एनपीएल सहभागिता प्रभावित हुन सक्छ। प्रतियोगिता सुरु हुनै लाग्दा उत्पन्न यो विवादले फ्रेन्चाइजहरूलाई अन्तिम समयमा वैकल्पिक खेलाडी खोज्नुपर्ने अवस्था सिर्जना गर्न सक्ने देखिएको छ।
