विराटनगर । दैनिक हजारौँ युवा रोजगारी तथा अवसरको खोजीमा विदेश गइरहेका बेला विराटनगरका एक युवाले आफ्नै घरको समस्या समाधान गर्न विकास गरेको मोबाइल एप देशभरका व्यवसायीमाझ लोकप्रिय बन्दै गएको छ ।
विराटनगर–१० का रोहित कुमार गुप्ताले पसलमा डिजिटल भुक्तानी गर्दा रकम प्राप्त भएको पुष्टि गर्न मोबाइल पटक–पटक हेर्नुपर्ने झन्झट हटाउन ‘पेमेन्ट स्पिकर नेपाल’ (Payment Speaker Nepal) नामक एन्ड्रोइड एप विकास गरेका हुन् । उक्त एपले मोबाइलमा आउने भुक्तानीसम्बन्धी सूचनालाई पहिचान गरी प्राप्त रकम नेपाली आवाजमा सुनाउने सुविधा दिन्छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत विराटनगरस्थित हिमालय दर्शन कलेजबाट कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) अध्ययन गरेका गुप्तालाई विद्यार्थी जीवनदेखि नै दैनिक जीवनका समस्या प्रविधिमार्फत समाधान गर्ने रुचि थियो । यसअघि उनले आकस्मिक अवस्थामा रक्तदाता खोज्न सहयोग गर्ने ‘ब्लड ७ नेपाल’ (Blood 7 Nepal) नामक एपसमेत निर्माण गरेका थिए ।
गुप्ताको परिवारको विराटनगरमा किराना पसल छ । डिजिटल भुक्तानीको प्रयोग बढ्दै जाँदा ग्राहकले क्युआर कोड स्क्यान गरेर पैसा तिर्ने क्रम पनि बढेको थियो । तर, पसलमा भीड भएका बेला भुक्तानी प्राप्त भए–नभएको पुष्टि गर्न मोबाइलको स्क्रिन हेरिरहनुपर्ने समस्या उनका अभिभावकले भोग्दै आएका थिए । यही समस्या समाधान गर्ने उद्देश्यले उनले ‘पेमेन्ट स्पिकर नेपाल’ एप निर्माण गरेका हुन् ।
सुरुमा आफ्नै किराना पसल र छिमेकका व्यवसायीमाझ परीक्षण गरिएको एप प्रभावकारी देखिएपछि उनले गुगल प्लेस्टोरमार्फत सर्वसाधारणका लागि उपलब्ध गराएका थिए । उपलब्ध विवरणअनुसार, उक्त एप ६० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ । एपले गुगल प्लेस्टोरमा पाँचमध्ये ४.५ स्टार रेटिङसमेत प्राप्त गरेको छ ।
गुप्ताले एप निर्माण गर्दा डिजिटल सुरक्षा र प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिएको बताएका छन् । एप अफलाइनमै सञ्चालन हुने गरी तयार पारिएको र कारोबारसम्बन्धी विवरण बाह्य सर्भरमा नपठाई मोबाइलमै प्रशोधन हुने उनको दाबी छ । यसले प्रयोगकर्ताको गोप्य विवरण सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाली व्यवसायीलाई आजीवन निःशुल्क सेवा उपलब्ध गराउने लक्ष्यसहित गुप्ताले प्रयोगकर्ताको सुझावअनुसार एपलाई थप परिष्कृत गर्दै लगिरहेका छन् ।
स्थानीय समस्यालाई पहिचान गरी प्रविधिको प्रयोगबाट समाधान खोज्ने गुप्ताको प्रयासले नेपाली युवामा रहेको सिर्जनशीलता र प्राविधिक क्षमताको सम्भावना उजागर गरेको छ । आफ्नै समाजका आवश्यकता पहिचान गरेर नवीन प्रविधि विकास गर्न सके स्वदेशमै बसेर पनि उपयोगी डिजिटल सेवा निर्माण गर्न सकिने उनको प्रयासले देखाएको छ ।
