विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका ६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै बोरामा बेरिएको अवस्थामा उनको शव फेला परेको हो ।
भारतीय नागरिक गुप्ता विगत ३० वर्षदेखि विराटनगर महानगरपालिका ६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए । उनी ब्याट्री मर्मतसम्बन्धी व्यवसायमा संलग्न थिए ।
आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरतर्फ केशलिया खोलाको किनारमा स्थानीयले बोरामा बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएको छ । शव बोराले बेरिएको अवस्थामा फेला परेकाले हत्या गरेर फालिएको हुन सक्ने आशंका गरिएको उनले बताए ।
‘बोराले बेरिएको अवस्थामा शव फेला परेकाले घटना शंकास्पद छ,’ डीएसपी खड्काले भने, ‘विभिन्न कोणबाट विस्तृत अनुसन्धान गरिरहेका छौँ।’
घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरीको प्राविधिक टोली परिचालन गरी प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
