विराटनगर । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगलागीमा परी गौरीगञ्ज नगरपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिहीबार बिहान ४ः१० बजे विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। ध्रुव भट्टराईको जग्गामा बनेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ का रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।
आगो नियन्त्रणमा लिएपछि गरिएको अनुसन्धानका क्रममा क्यान्टिनमा काम गर्ने तामाङको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन्। घटनाबाट करिब तीन लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ।
आगलागीले क्यान्टिनसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्स गोदाममा समेत सामान्य क्षति पुर्याएको छ।
दमकलले आगो निभाउने क्रममा गोदाममा रहेका २० देखि २५ बोरा सिमेन्ट भिज्दा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
