Premier Cables
Premier Steel

राष्ट्रिय

गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, राति ९ बजेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज २४, २०८३  | साँझ ७:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धादिङ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै काठमाडौंतर्फ पर्ने गलौदी क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

२०८३ असोज २४ गते साँझ ५ः३० बजेसम्मको अवस्थाअनुसार सडक अवरुद्ध भएपछि सडक विभागले तत्काल आवागमन सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग कटान (ब्याक कटिङ) गरी सडक विस्तारको काम तीव्र बनाएको छ।

विज्ञापन

सडक विभागको कार्ययोजनाअनुसार शनिबार राति ९ बजेदेखि उक्त सडकखण्डमा एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ। त्यसैगरी, आइतबार बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालन गर्न आवश्यक सडक विस्तारको काम सुरु गरिनेछ।

मौसम तथा अन्य परिस्थिति अनुकूल रहेमा आइतबार साँझ ६ बजेसम्म सडक विस्तारको काम सम्पन्न गरी दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ।

अवरुद्ध सडक यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा ल्याउन उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ। नदी कटानका कारण सडकको संरचनामा क्षति पुगेपछि आवागमन पूर्ण रूपमा रोक्नुपरेको हो।

सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकहरू प्रभावित भएका छन्। सडक विभागले सडक पुनः सञ्चालन नभएसम्म अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्राकृतिक प्रकोपका कारण यात्रु तथा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गर्दै सडक सुरक्षित रूपमा सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ।

गलौदी सडकखण्ड हुँदै यात्रा गर्नेहरूले हिँड्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र एकतर्फी तथा दुईतर्फी आवागमन सुरु हुने समयबारे सम्बन्धित निकायको आधिकारिक सूचना पछ्याउन सरकारले आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka