विराटनगर | स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको ५.५ प्रतिशत हिस्सा गुमाएका छन्। अत्यधिक गर्मी र जाडोयाममा पर्याप्त हिमपात नहुँदा बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्।
ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब २० प्रतिशतले घटेको छ। ग्लामोसका प्रमुख तथा हिमविज्ञानका प्राध्यापक म्याथियास हसले वर्तमान अवस्थालाई हेर्दा अल्पाइन हिमनदीहरू लामो समयसम्म टिकिरहन कठिन हुने बताउनुभएको छ।
हसका अनुसार अहिले देखिएको तापक्रम वृद्धि मानवजन्य जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। मानव गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जन र जीवाश्म इन्धनको प्रयोग नभएको भए वर्तमान स्तरको तापक्रम वृद्धि हुने अवस्था नआउने उहाँको भनाइ छ।
जाडोयाममा पर्याप्त हिमपात नहुनु हिमनदीका लागि विशेष चिन्ताको विषय बनेको छ। हिमपातले पुरानो बरफलाई पग्लनबाट जोगाउनुका साथै उच्च उचाइमा नयाँ बरफ बन्ने आधार तयार गर्छ। सन् २०२२ मा अत्यधिक गर्मी, कम हिमपात र सहारा मरुभूमिबाट आएको रातो धुलोका कारण स्विट्जरल्यान्डका हिमनदीमा अहिलेसम्मकै तीव्र बरफ क्षय भएको थियो।
यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विट्जरल्यान्डका हिमनदीबाट करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान गरिएको छ। यो करिब ९१ लाख जनसंख्या भएको स्विट्जरल्यान्डको वार्षिक पानी खपतको चार गुणा हो। देशले आफ्नो कुल विद्युत् उत्पादनको आधाभन्दा बढी हिस्सा जलविद्युत्बाट प्राप्त गर्ने भएकाले हिमनदीमा भइरहेको तीव्र परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग समेत प्रत्यक्ष रूपमा जोडिएको छ।
यस वर्ष हराएको बरफको कुल मात्रा सन् २००३ को भन्दा कम भए पनि कुल बरफको अनुपातमा भएको क्षति भने बढी रहेको विज्ञहरूले बताएका छन्। सन् २००३ मा स्विट्जरल्यान्डका हिमनदीको कुल बरफमध्ये ३.५ प्रतिशत गुमेको थियो। अहिले भने २३ वर्षअघिको तुलनामा हिमनदीमा बाँकी बरफको मात्रा करिब एक तिहाइमा झरेको छ।
यस वर्ष कतिपय हिमनदीको औसत मोटाइ २.५ देखि ४ मिटरसम्म घटेको पाइएको छ। केही हिमनदीको अगाडिको भागमा भने बरफको मोटाइ १० मिटरसम्म घटेको छ। एलालिन, क्लेरिडेन्ट, रोन तथा आल्प्स क्षेत्रको सबैभन्दा ठूलो एलेट्स हिमनदी तीव्र रूपमा बरफ गुमाउने हिमनदीमा परेका छन्।
विज्ञहरूका अनुसार हिमनदी पग्लने असर स्विट्जरल्यान्डमा मात्र सीमित छैन। स्विट्जरल्यान्डलाई युरोपको ‘पानीको टावर’ मानिन्छ, जहाँबाट डेन्युब, पो, राइन र रोनजस्ता महत्वपूर्ण नदी प्रणालीमा पानीको योगदान पुग्छ।
विश्वव्यापी तापक्रम वृद्धि जारी रहँदा हिमालय, ग्रिनल्यान्ड र अन्टार्कटिकासहित विश्वका विभिन्न क्षेत्रमा हिमनदी तथा बरफका भण्डारमा तीव्र परिवर्तन देखिइरहेको छ। हिमनदीको निरन्तर क्षयले भविष्यमा पानीको उपलब्धता, जलविद्युत् उत्पादन र नदी प्रणालीमा दीर्घकालीन प्रभाव पार्न सक्ने विज्ञहरूको चेतावनी छ।
