विराटनगर । विराटनगर महानगरपालिका १६ रानीस्थित जुट मिल ग्राउन्डमा सञ्चालन भएको प्रथम लाली गुराँस कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि आयोजक लाली गुराँस स्पोर्टिङ क्लबले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा लाली गुराँस स्पोर्टिङ क्लबले बाबिया बिरता युथ क्लबलाई ४–३ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि आयोजक टोलीले एक गोलको अन्तरले बाजी मारेको हो।
लाली गुराँस स्पोर्टिङ क्लबको आयोजनामा असोज ३ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न ८ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका खेलहरू जुट मिल ग्राउन्डमा सञ्चालन गरिएको थियो।
फाइनल खेलमा प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसनराज अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम लामा, मोरङ जिल्ला फुटबल महासंघका सहसचिव दिनेश बस्नेतलगायतको उपस्थिति थियो।
प्रतियोगिताको अध्यक्षता लाली गुराँस स्पोर्टिङ क्लबका अध्यक्ष सुमित डंगोलले गरेका थिए |
