नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार बीपी सेवा केन्द्र, डाइनियामा आयोजित क्षेत्रीय अधिवेशनपछि सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस सभापतिका लागि सुनवर्षी नगरपालिका–१ का देवेन्द्र बहादुर बस्नेत, सुनवर्षी नगरपालिका–२ का यज्ञ कार्की र सुनवर्षी नगरपालिका–३ का महेश्वर प्रसाद राजवंशीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
यस्तै, क्षेत्रीय सचिव पदका लागि तीन जना र सहसचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ।
महाधिवेशन प्रतिनिधितर्फ पनि प्रतिस्पर्धा हुने भएको छ। खुला तर्फ १० जना निर्वाचित हुने व्यवस्था भए पनि २५ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारको सूचीमा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसमेत रहेका छन्। महिलातर्फ चार जना निर्वाचित हुनेमा सात जना र युवातर्फ दुई जना निर्वाचित हुनेमा छ जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूबीच सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि सोमबार बिहान ८ बजेदेखि बीपी सेवा केन्द्रमा मतदान हुने निर्वाचन समितिले जनाएको छ।
मोरङ क्षेत्र नम्बर २ मा करिब ९ सय क्षेत्रीय प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन्।
