काठमाडौं । भारतको ग्रेटर नोएडास्थित यमुना एक्सप्रेस वेमा दिल्लीबाट बिहारतर्फ जाँदै गरेको स्लिपर बसमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक महिला पनि रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना जेवर प्रहरी चौकी क्षेत्रअन्तर्गत एक्सप्रेस वेको ३३ किलोमिटर माइलस्टोन नजिकै रातिको समयमा भएको हो। आगलागीपछि बसभित्र धुवाँ भरिँदा यात्रुहरूलाई बाहिर निस्कन कठिन भएको थियो।
घटनाबाट बाँचेकी यात्रु रिंकी राजपूतले समाचार एजेन्सी एएनआईसँग आफू सुतिरहेको बेला कसैले ठूलो आवाजमा ढोका ढकढक्याएपछि ब्युँझिएको बताइन्। आँखा खोल्दा बसभित्र ठूलो भीड र भागदौड मच्चिएको उनले बताइन्।
उनका अनुसार यात्रुहरू एकअर्कालाई धकेल्दै बाहिर निस्कने प्रयास गरिरहेका थिए। आफूलाई पनि धकेलिएको र अन्ततः कसैले बाहिर निकाल्न सफल भएको उनले बताइन्।
रिंकीले बस पूर्ण रूपमा धुवाँले भरिएको र केही पनि देख्न नसकिने अवस्था रहेको बताइन्। धुवाँका कारण यात्रुहरूलाई सास फेर्नसमेत समस्या भएको तथा निकै कम मानिस मात्र बाहिर निस्कन सफल भएको उनको भनाइ छ।
‘बसमा निकै अस्तव्यस्त अवस्था थियो। बाहिर निस्कन निकै गाह्रो थियो,’ उनले भनेकी छन्। आफूभन्दा पछाडि रहेका धेरै यात्रुहरू बाहिर निस्कन नसकेको हुनसक्ने आशंका पनि उनले व्यक्त गरिन्।
आगलागीबाट भएको मानवीय क्षतिको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
