काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच सीमाक्षेत्रमा पुनः तनाव बढेको छ। पाकिस्तानी स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको आरोप लगाएका छन्। यद्यपि, काबुलले आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ।
पाकिस्तानी अधिकारीहरूका अनुसार आतङ्कवादी समूहले अफगानिस्तानबाट पाकिस्तानतर्फ सीमापार घुसपैठ गर्न खोजेपछि पाकिस्तानी सेनाले त्यसलाई विफल पारेको थियो। त्यसपछि अफगान तालिबान सेनाले पाकिस्तानी सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको उनीहरूको दाबी छ। जवाफी कारबाहीका क्रममा पाकिस्तानी सेनाले तालिबानका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान तथा अन्य रक्षात्मक संरचनामा तोपखाना प्रयोग गरेको बताइएको छ।
पक्तिया र नङ्गरहार प्रान्ततर्फबाट पाकिस्तान प्रवेश गर्ने प्रयास भएको चारजना स्थानीय अधिकारीले बताएका छन्। पाकिस्तानले पाकिस्तानी तालिबान (टीटीपी) लाई ‘फितना–उल–खवारीज’ भन्ने गरेको छ। इस्लामाबादले अफगान तालिबान सरकारमाथि आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध आतङ्कवादी गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै आएको छ भने काबुलले आरोप अस्वीकार गर्दै आएको छ।
नाम सार्वजनिक नगर्ने सर्तमा बोल्दै अधिकारीहरूले जवाफी कारबाहीपछि अफगान तालिबानका केही सुरक्षाकर्मीले स्थान छाडेको तथा केही हताहत भएको दाबी गरेका छन्। यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन।
यसअघि पाकिस्तानी लडाकू विमानले पूर्वी अफगानिस्तानका केही स्थानमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानको सूचना मन्त्रालयले उक्त आक्रमणमा २८ जना आतङ्कवादी मारिएको दाबी गरे पनि अफगान अधिकारीहरूले कम्तीमा तीन सर्वसाधारणको मृत्यु र चारजना घाइते भएको बताएका थिए। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले पनि नागरिक हताहत भएको जनाएको थियो।
सीमामा बढ्दो तनावले पाकिस्तान र अफगानिस्तानबीच स्थायी शान्तिका लागि चीन, टर्की, कतार र साउदी अरेबियाले गरिरहेको मध्यस्थता प्रयासमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ। संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कमा आयोजित कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री इशाक दारले अफगानिस्तानमा पाकिस्तानविरोधी दुई दर्जनभन्दा बढी आतङ्कवादी समूहको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका थिए।
यसैबीच, पाकिस्तानी अधिकारीहरूले उत्तरपश्चिमी पाकिस्तानको कोहाटतर्फ प्रवेश गर्नुअघि अफगान तालिबान शासनबाट प्रक्षेपण गरिएको भनिएका दुईवटा ड्रोन निष्क्रिय पारेको बताएका छन्। उनीहरूका अनुसार यस घटनापछि सीमापारबाट हुनसक्ने हवाई खतराविरुद्ध पाकिस्तानी सुरक्षा बल उच्च सतर्कतामा छन्।
पछिल्ला हवाई आक्रमणसँगै सीमापार लामो समयदेखि जारी तनावपछि देखिएको केही साताको तुलनात्मक शान्ति पनि अन्त्य भएको देखिएको छ। यसै महिनाको सुरुआतमा पाकिस्तानी सुरक्षा बलले अफगानिस्तानबाट पाकिस्तान प्रवेश गर्न खोजेका १५ जना आतङ्कवादीलाई मारेको जनाएको थियो।
सोमबारको हवाई आक्रमण खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा आतङ्कवादीसँग भएको गोली हानाहानपछि भएको थियो। उक्त घटनामा छजना पाकिस्तानी सुरक्षाकर्मी मारिएका थिए। त्यसको केही दिनअघि कोहाट सहरस्थित प्रहरी परिसरभित्र रहेको मस्जिदमा आत्मघाती बम विस्फोट भएको थियो। त्यसपछि आठजना बन्दुकधारीले प्रहरी परिसरमा आक्रमण गर्दा करिब २० घण्टासम्म गोली हानाहान भएको र कम्तीमा २१ जनाको मृत्यु भएको थियो। मृतकमध्ये अधिकांश प्रहरी अधिकारी थिए। घटनाको जिम्मेवारी भने कुनै समूहले लिएको छैन।
पाकिस्तानी अधिकारीहरूले पछिल्ला हिंसात्मक घटनामा तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) तथा त्यससँग सम्बद्ध समूहलाई जिम्मेवार ठहराउँदै आएका छन्। अफगान तालिबान सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएपछि टीटीपीले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको पाकिस्तानको दाबी छ। अफगान तालिबानले भने पाकिस्तानविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिएको बताउँदै आएको छ।
