Premier Cables

राजनीति

कांग्रेसको वडा अधिवेशन आज, ६ हजार ७ सय ४३ वडामा नयाँ नेतृत्व चयन हुँदै

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०३, २०८३  | बिहान ८:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज (असोज ३ गते)देखि सुरु हुँदैछ।

देशभरका ६ हजार ७ सय ४३ वडामा हुने अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। कतिपय स्थानमा स्थानीय अनुकूलताअनुसार असोज ४ गते पनि अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ।

विज्ञापन

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार वडा अधिवेशनपछि असोज ७ गते गाउँ तथा नगर अधिवेशन हुनेछ। त्यसपछि असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। यी अधिवेशनबाट महाधिवेशन प्रतिनिधि तथा सम्बन्धित तहका कार्यसमिति चयन हुनेछन्।

यसअघि सार्वजनिक गरिएको कार्यतालिकामा जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनअघि नै गर्ने भनिएको थियो। तर पार्टीभित्र सहमति र सहभागिता बढाउने प्रयाससँगै कार्यतालिका परिमार्जन गरिएको हो।

पछिल्लो तालिकाअनुसार जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया केन्द्रीय महाधिवेशनपछि अघि बढाइने भएको छ। भने केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राखिएको छ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ। 

कांग्रेसको महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु हुन्छ। वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ। त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा माथिल्ला तहका अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्छ।

यसपटक देशभरका ६ हजार ७ सय ४३ वडाबाट वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित ठूलो संख्यामा पार्टीका प्रतिनिधि निर्वाचित हुनेछन्। एउटा वडाबाट क्रियाशील सदस्यताको संख्याका आधारमा २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको कांग्रेसले जनाएको छ।

१५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्दै गर्दा कांग्रेसभित्रको आन्तरिक विवाद भने पूर्ण रूपमा समाधान भइसकेको छैन।
सभापति गगनकुमार थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई सहभागी हुन आह्वान गरेका छन्। थापाले विशेष महाधिवेशनपछि बाँकी रहेका तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समेत वर्तमान केन्द्रीय कार्यसमितिमा समेटिएको भन्दै सबै पक्षलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

उता पूर्वसभापति शेरबहादुर देउवाले भने गगन थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। विशेष महाधिवेशनको वैधताको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवाले विधि, विधान र सहमतिका आधारमा महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

तर पछिल्लो समय देउवा पक्षमा रहेका केही प्रभावशाली नेताहरू भने थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने अवस्थामा पुगेका छन्। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू पनि माग सम्बोधन भएपछि महाधिवेशनमा सहभागी हुने सहमतिमा पुगेका छन्। देउवा पक्षबाट करिब ३१ नेतासहित ठूलो समूहलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णय भएको छ ।

नेता शेखर कोइरालाले भने दुवै पक्षको महाधिवेशन रोक्दै पार्टीभित्र एकताको वातावरण बनाउनुपर्ने धारणा राख्दै आफू तत्कालको अधिवेशन प्रक्रियामा सहभागी नहुने संकेत गरेका छन्। यद्यपि उनीनिकट अधिकांश नेताहरू भने निर्धारित प्रक्रियामा सहभागी हुने मनस्थितिमा रहेको छन ।

यसबीच थापा पक्षले देउवासहित असन्तुष्ट सबै पक्षलाई समेट्ने प्रयास जारी राखेको छ। थापाले देउवालाई नै महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन्।

मोरङमा नेपाली कांग्रेसका ६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वडा अधिवेशनको तयारी तीव्र पारिएको छ। जिल्लामा वडा तहबाटै नेतृत्व चयनको प्रक्रिया सुरु हुने भएकाले विभिन्न समूहका नेता–कार्यकर्ता आ–आफ्नो क्षेत्रमा सक्रिय भएका छन्।

मोरङ कांग्रेसले यसअघि नै क्रियाशील सदस्यता अद्यावधिक तथा अधिवेशनसम्बन्धी कामलाई तीव्रता दिएको थियो। जिल्लामा ६ वटै निर्वाचन क्षेत्रमा अनुगमन तथा सहजीकरणका लागि छुट्टाछुट्टै जिम्मेवारीसमेत तोकिएको थियो।

वडा तहमा नेतृत्व चयनका क्रममा सकेसम्म सर्वसम्मति कायम गर्ने प्रयास भइरहेको कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन्। तर आकांक्षीबीच सहमति नजुटेका केही वडामा निर्वाचनमार्फत नेतृत्व तथा प्रतिनिधि चयन हुने सम्भावना छ।

मोरङमा विगतका अधिवेशनहरूमा विभिन्न समूहबीच प्रतिस्पर्धा देखिँदै आएको भए पनि यसपटक पार्टी विभाजनतर्फ नजाओस् र सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्नुपर्ने आवाजसमेत उठिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka