Premier Cables

अन्तराष्ट्रिय

मक्काको सुरक्षामा साउदीको कडा चेतावनी

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | साँझ ४:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरी ड्रोन पठाएको आरोप लगाउँदै साउदी नेतृत्वको गठबन्धनले पवित्रस्थलको सुरक्षा आफ्नो ‘रेड लाइन’ भएको जनाएको छ । गठबन्धनले पवित्रस्थल र तीर्थयात्रीको सुरक्षाका लागि हुथीविरुद्ध आवश्यक तथा निवारक कदम चाल्न नहिचकिचाउने चेतावनी दिएको हो ।

गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा दुई पवित्र मस्जिद र तीर्थयात्रीको सुरक्षा अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्नुभएको छ । घटनाको इस्लामिक सहयोग सङ्गठनले समेत निन्दा गरेको छ ।

विज्ञापन

हुथीहरूले भने मक्कातर्फ ड्रोन पठाएको साउदी अरेबियाको दाबी अस्वीकार गरेका छन् । हुथी पोलिटब्युरोका हाजेम अल–असदले यस्तो आरोप यसअघि पनि लगाइएको र अहिलेको दाबी पनि ‘झूट’ भएको बताउनुभएको छ ।

इरान समर्थित हुथी र साउदी समर्थित यमनी सरकारबीच जुलाईदेखि पुनः चर्किएको द्वन्द्वले क्षेत्रीय तनाव बढाएको छ । हुथीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्नुका साथै लाल सागरमा साउदी जहाजलाई लक्षित गर्ने चेतावनी दिएका छन् । गत साता उनीहरूले यमनको लाल सागर तट र बाब अल–मन्डब जलघाँटीमा आफ्नो नियन्त्रण विस्तार गरेको दाबी गरेका थिए ।

साउदी अरेबियाले मंगलबार मक्का र यमनसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा सम्भावित आक्रमणबारे चेतावनी जारी गरेको थियो । यमनबाट भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा साउदीको दक्षिणी क्षेत्रमा १३ जना घाइते भएका थिए ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सेप्टेम्बरयता यमनको द्वन्द्वका कारण करिब ८२ हजार मानिस विस्थापित भएका छन् । यमनका स्थायी प्रतिनिधि अब्दुल्लाह अल–सादीले हुथीविरुद्ध अन्तर्राष्ट्रिय कारबाही गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच, लाल सागरमा हुथी आक्रमण बढेपछि साउदी युवराज मोहम्मद बिन सलमान र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले बाब अल–मन्डब र हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनको स्वतन्त्रता तथा सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । कतारले बाब अल–मन्डब जलघाँटी बन्द भए त्यसको परिणाम विश्वका लागि गम्भीर हुने चेतावनी दिएको छ ।

हुथीहरूले साउदी तेल पूर्वाधारलाई समेत लक्षित गर्दै आएका छन् । साउदी नेतृत्वको गठबन्धनले राज्यको सार्वभौमिकताको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने जनाएको छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारीले पछिल्लो २४ घण्टामा साउदी अरेबियाले यमनमा ५२ हवाई आक्रमण गरेको र विद्यालय तथा पुललगायत नागरिक संरचनालाई लक्षित गरेको आरोप लगाउनुभएको छ । यता, एक अमेरिकी अधिकारीले एएफपीलाई बताएअनुसार अमेरिकी सैन्य कार्यदलले साउदी सेनालाई गुप्तचर सूचना तथा सैन्य योजना निर्माणमा सहयोग बढाइरहेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka