फायल फोटो
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक भासिएपछि अवरुद्ध भएको राजमार्गमा नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनको तयारी गरिएको हो ।
राजधानीलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख राजमार्गमा करिब साढे दुई सातादेखि नियमित यातायात सञ्चालन हुन नसक्दा यातायात व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । सडक पुनः सञ्चालन हुने भएपछि व्यवसायीहरू पूर्ववत् सेवा सञ्चालन गर्न पाउनेमा आशावादी बनेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पृथ्वी राजमार्गमा यातायात पुनः सञ्चालन भएसँगै पूर्ववत् सेवा सञ्चालन गर्न सकिने जानकारी आफ्ना सदस्य संघ, समिति, कम्पनी तथा प्रालिलाई गराएको छ ।
महासंघका अनुसार कृष्णभिरमा सडक अवरुद्ध हुँदा १८ दिनसम्म यातायात व्यवसायीले करोडौँ रुपैयाँको घाटा बेहोर्नुपरेको छ । सडक अवरुद्ध हुँदा यात्रुलाई समेत निर्धारित समयमा गन्तव्यमा पुर्याउन कठिनाइ भएको महासंघले जनाएको छ ।
कृष्णभिरमा गत भदौ १४ गते करिब १ सय मिटर सडक भासिएपछि पृथ्वी राजमार्गको नियमित यातायात प्रभावित भएको थियो । सडक भासिएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनयोग्य बनाउन १८ दिन लागेको हो ।
सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरेर यातायात सञ्चालन गरिँदै आएको थियो । तर, वैकल्पिक सडकबाट ठूला सवारीसाधन तथा लामो दूरीका यातायात सञ्चालनमा कठिनाइ भएपछि त्यसको प्रत्यक्ष असर यातायात व्यवसायी र यात्रुमा परेको थियो ।
कृष्णभिरमा दुईतर्फी यातायात सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनले नियमित रुटबाटै सेवा दिन सक्ने अपेक्षा गरिएको छ ।
