काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकांश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
दिउँसो मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोसी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। सुदूरपश्चिमका तराई भूभागका थोरै स्थान तथा अन्य तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा समेत आज वर्षा हुने अनुमान गरिएको छ। भक्तपुरका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाडौंमा दिउँसोदेखि साँझसम्म मध्यम वर्षा हुन सक्नेछ। उपत्यकाको आसपासका क्षेत्रमा भने भारी वर्षाको समेत सम्भावना रहेको उनले बताएका छन्। राति काठमाडौंमा वर्षाको मात्रा केही कम हुने उनको भनाइ छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
