काठमाडौँ। रसुवामा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरू प्रभावित भएपछि नेपालबाट बंगलादेशतर्फ भइरहेको विद्युत् निर्यात पूर्ण रूपमा बन्द भएको छ।
बाढीले उत्पादन र प्रसारण प्रणालीमा क्षति पुर्याएपछि भारततर्फ हुने विद्युत् निर्यातमा पनि उल्लेख्य कटौती आएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण त्रिशूली नदी करिडोरका प्रमुख जलविद्युत् आयोजना र प्रसारण लाइनमा प्राविधिक समस्या उत्पन्न भएको छ। विद्युत् उत्पादन ह्वात्तै घटेपछि पूर्वनिर्धारित तालिका अनुसार बंगलादेश पठाइँदै आएको बिजुली आपूर्ति पूर्ण रूपमा रोक्नुपरेको हो।
यसैगरी, उत्पादनमा आएको ह्रासका कारण भारततर्फ दैनिक निर्यात हुँदै आएको विद्युत्को परिमाणमा समेत ठूलो गिरावट आएको छ।
प्राधिकरणका अधिकारीहरूका अनुसार क्षतिग्रस्त आयोजना तथा प्रसारण संरचनाको मर्मत सम्भार कार्य तीव्र पारिएको छ। प्राविधिक टोली खटिएर काम गरिरहेको र स्थिति सामान्य हुनासाथ दुवै देशतर्फको विद्युत् निर्यात पुनः सुचारु गरिने जनाइएको छ।
