विराटनगर । लामो विवाद र चौतर्फी दबाबपछि विराटनगरका शिलबन्दी गरिएका सातवटा आँखा अस्पताल पुनः सञ्चालनमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार शिलबन्दी हटाएसँगै ती अस्पताल १४ दिनपछि खुलेका हुन् ।
मापदण्ड पूरा नगरेको दाबी गर्दै प्रशासनले साउन २७ र २८ गते विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पतालमा शिलबन्दी गरेको थियो ।

शिलबन्दीपछि प्रशासनको कदमलाई लिएर स्वास्थ्यकर्मी, राजनीतिक दल तथा सम्बन्धित संघसंस्थाले विरोध जनाएका थिए । उनीहरूले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै स्वास्थ्य संस्थामाथि एकतर्फी रूपमा कारबाही गरिएको आरोप लगाएका थिए ।
विवाद बढेपछि स्वास्थ्य मन्त्रालयले उपसचिव निर्मल भट्टराईको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन गरी प्रतिवेदन बुझाएपछि अस्पताल सञ्चालनका लागि बाटो खुलेको हो ।
कोशी प्रदेशका स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीका अनुसार अध्ययन समितिको प्रतिवेदन तथा विद्यमान कानुनी व्यवस्थाका आधारमा अस्पतालमा लगाइएको शिलबन्दी हटाइएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रशासनलाई निर्देशन दिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत कोविद ढकालसहितको टोलीले सातवटै अस्पतालमा पुगेर शिलबन्दी खोलेको हो ।
स्वास्थ्य संस्थामा सुधार आवश्यक भए पनि तत्काल शिलबन्दी गर्नुको सट्टा सुधारका लागि आवश्यक समय दिनुपर्ने भन्दै स्वास्थ्यकर्मी तथा सम्बन्धित संस्थाहरूले प्रशासनको निर्णयको आलोचना गर्दै आएका थिए ।
शिलबन्दी हटेसँगै अब ती सातवटै आँखा अस्पतालबाट नियमित रूपमा सेवा प्रवाह हुने भएको छ ।
