






विराटनगर । मानव जीवनमा आँखाको महत्व कति छ ? तपाई हामी सबैलाई थाहा छ । तर, साना बालबालिकाले आँखाको जतन र स्याहार वयस्कहरूले जति गर्न सक्दैनन् ।
अझ, मौसम परिवर्तन र प्राकृतिक विपद्पछिको फैलिने पानीजन्य प्रकोपका कारण सबैभन्दा प्रभावित बालबालिका र ज्येष्ठ नागरिक नै हुन्छन् ।
प्राकृतिक विपद्पछिको प्रकोपमा आँखाको जतन र स्याहार कसरी गर्ने भनि विश्व दृष्टि दिवसका अवसरमा रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरले विहिवार सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई तालिम दिएको छ ।
विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा विराटनगर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरूलाई आँखा सम्बन्धी सचेतना तालिम दिएको हो । आँखामा लाग्ने रोगहरू, हालैको बाढीपछि आँखामा देखिन सक्ने सङ्क्रमण, सङ्क्रमण रोक्ने उपायका विषयमा जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको स्पतालका प्रबन्धक नविन राजवंशीले बताए ।
राजवंशीले स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखीकरणबाहेक अस्पतालले विश्वदृष्टि दिवसका अवसरमा अस्पतालका उपचारका लागि आउने १६ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताए । विश्व दृष्टि दिवसकै अवसरमा विद्यालयका विद्यार्थीहरूवीच आँखा सम्बन्धी सचेतनामुलक चित्रकला प्रतियोगितासमेत आयोजना गरिने राजवंशीले बताए ।
कार्यक्रममा अस्पतालकी बाल आँखा रोग विशेषज्ञ डा इशा श्रेष्ठले सामान्य सावधानी अपनाउने र समयमै अस्पतालमा उपचारका लागि ल्याउने हो भने पनि बालबालिकाको आँखा जोगाउन सकिने धारणा राखिन् । उनले गोल्छा अस्पतालमा उपचारका लागि आउने बालबालिकाहरूमा दृष्टि दोषको समस्या सबै भन्दा बढी देखिएको बताइन् ।
डा श्रेष्ठले भनिन् ‘ बालबालिकामा मोवाइल, टीभी बढी हेर्ने कारणले दृष्टि दोष सम्बन्धी धेरै समस्या देखिन थालेको छ ।’ यस्तै कतिपय बालबालिकाको जन्मजात नै पनि आँखामा समस्या देखिने गरेको उनले बताइन् । उनले बालबालिकाको आँखामा दृष्टि दोष सम्बन्धी कुनै समस्या भए तत्कालै अस्पतालमा उपचारलागि अस्पताल लैजान सुझाव दिइन् ।
कार्यक्रममा आँखा रोग विशेषज्ञ डा जितेन्द्र झाले बाढी पहिरोका कारण, फोहोर पानी र सरसफाइमा कमीका कारण आँखामा संक्रमण हुन सक्ने भएकाले सकभर आँखा नछुन, छुनुपरे हात सफागरेर मात्रै आँखा छुन आग्रह गरे । उनका अनुसार बाढी पहिरोपछि प्रभावित क्षेत्रका मानिसहरूमा आँखा पाक्ने, आँखाको नानीमा संक्रमण हुने समस्या देखिन सक्ने बताए ।
त्यस्तै नजिकिंदै गरेको तिहारमा पटका र पटकाजन्य पदार्थहरू पड्काउँदा आँखालाई असर गर्ने भएकाले त्यस्ता सामाग्री नपड्काउने , पड्काउनै परे विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।