काठमाडौँ | लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) को संक्रमण बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा जेइ संक्रमण पुष्टि भएको छ।
महाशाखाले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार संक्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ। पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु भएका सबैले पनि जेइ खोप नलगाएको तथ्याङ्कमा उल्लेख छ।
जेइ संक्रमण सबैभन्दा बढी झापामा १० जनामा देखिएको छ। कैलाली र मोरङमा सात/सात, सप्तरी र कञ्चनपुरमा छ/छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच/पाँच जनामा संक्रमण पुष्टि भएको छ। तराई र भित्री मधेसमा बढी देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ।
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। धानखेत र सुँगुरपालन हुने क्षेत्रमा यसको जोखिम बढी हुने स्वास्थ्य विभागले जनाएको छ। संक्रमित सुँगुर, बङ्गुर वा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्छ।
जेइ संक्रमणपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने र चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय नबिताई तत्काल स्वास्थ्य संस्थामा लैजान स्वास्थ्य अधिकारीले आग्रह गरेका छन्।
हालसम्म पुष्टि भएका ८० संक्रमितमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेइबाट भएको मृत्युमध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका व्यक्तिको रहेको छ। संक्रमितमध्ये ४३ पुरुष र ३७ महिला छन्।
जेइबाट बच्ने मुख्य उपाय खोप लगाउनु र लामखुट्टेको टोकाइबाट जोगिनु हो। सरकारले १२ महिनाका बालबालिकालाई जेइ खोप दिने गरेको छ। खोप छुटेका बालबालिकाले पाँच वर्षको उमेरसम्म खोप लगाउन सक्ने व्यवस्था छ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जेइबाट बच्न खोप अनिवार्य रहेको भन्दै खोप छुटेका बालबालिकालाई सकेसम्म छिटो खोप लगाउन आग्रह गरेका छन्।
