विराटनगर । विराटनगरमा सञ्चालित आँखा अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले गरेको शिलबन्दीको विरोधमा अस्पताल सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्।
प्रशासनले गत साता गरेको अनुगमनका क्रममा संघीय सरकारको स्वास्थ्यसम्बन्धी निर्देशिकाविपरीत सञ्चालनमा रहेको भन्दै विराटनगरका ७ वटा आँखा अस्पतालमा शिलबन्दी गरेको थियो। त्यसको विरोधमा आँखा अस्पताल संघ मोरङ तदर्थ संघर्ष समितिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शिलबन्दी तत्काल नखोलिए चरणबद्ध आन्दोलनसँगै कानुनी उपचारमा जाने चेतावनी दिएको छ।
समितिका संयोजक तथा विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले प्रशासनको निर्णय सच्याउन सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए।
समितिका सचिव तथा विराट आँखा अस्पतालका सञ्चालक तेजलाल कर्णले कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय, धनकुटाबाट स्वीकृति लिएर सञ्चालन भइरहेका अस्पतालमा जिल्ला प्रशासन कार्यालयले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर शिलबन्दी गरेको दाबी गरे।
उनका अनुसार शिलबन्दीपछि भारतका सञ्चारमाध्यममा समेत विराटनगरका आँखा अस्पताल बन्द भएको समाचार सार्वजनिक हुँदा भारतबाट उपचारका लागि विराटनगर आउने बिरामीहरू अन्योलमा परेका छन्।
अर्का सञ्चालक राजेश प्रसाईंले काठमाडौंस्थित तिलगंगा आई केयरमा सरकारले बेड संख्याका विषयमा स्पष्ट सीमा नतोकेको तर विराटनगरका आँखा अस्पतालको हकमा बेड संख्यालाई आधार बनाएर कारबाही गरिएको भन्दै राज्यको दोहोरो मापदण्डप्रति प्रश्न उठाए।
त्यस्तै, विराट रानी आँखा अस्पतालका सञ्चालक फिरोज चौधरीले विराटनगरमा २१ देखि २२ वटा आँखा अस्पताल सञ्चालनमा रहेको र निजी क्षेत्रबाट ठूलो लगानी भएको बताए। उनले राज्यको पछिल्लो कदमले निजी क्षेत्रको लगानी जोखिममा परेको दाबी गर्दै समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरे।
आँखा अस्पताल सञ्चालकहरूले शिलबन्दी खोल्न माग गर्दै प्रशासनसँग वार्ता र कानुनी प्रक्रियासँगै आन्दोलनलाई अघि बढाउने बताएका छन्।
