विराटनगर । ग्रामथान गाउँपालिका–४ स्थित राम जानकी मन्दिर परिसरमा शनिबार निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामथान गाउँपालिकाको आयोजना तथा समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। यो निःशुल्क शिविर स्थानीय समाजसेवी बिनोद कुमार चौधरी र राजु श्रेष्ठको सहयोगमा विराटनगरका बिनित लालबानी तथा रानी आँखा अस्पतालको सहकार्यमा सञ्चालन गरिएको हो।
शिविरमा सहभागीको आँखा तथा कान परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। ग्रामथान गाउँपालिका–४ का अध्यक्ष नारायण माझीका अनुसार स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै ठाउँमा स्वास्थ्य परीक्षणको अवसर मिलेको आयोजकले जनाएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाने बताइएको छ
