विराटनगर । अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘यूएस एम्बेसी इन्टरप्रेनरसीप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उत्कृष्ट २० जना उद्यमी छनोट भएका छन् ।
यो अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृंखलाअन्तर्गत अमेरिकी दूतावास नेपालको पहलमा सञ्चालित कार्यक्रम हो ।
यो कार्यक्रमका लागि देशभरबाट ८०० भन्दा बढी आवेदन प्राप्त भएको जनाइएको छ । तीमध्ये सात प्रदेशका नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यक्रममार्फत २०० भन्दा बढी उद्यमीलाई छनोटमा परी प्रशिक्षण दिइएको थियो ।
त्यसपछि व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, उद्यमीको प्रतिबद्धता तथा बजार सम्भावनाका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट उत्कृष्ट २० उद्यमीलाई काठमाडौंमा तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट गरिएको हो ।
कोसी प्रदेशको राजधानी विराटनगरकी युवा उद्यमी तथा मुनवेक स्किनकेयरकी संस्थापक एवं उत्पादन विकासकर्ता आकृति जालान पनि छनोटमा परेकी छन् ।
जालानले क्यापस्टोन एक्सेलेरेटरमा आफ्नो ब्रान्ड, बजार विस्तार योजना, उत्पादन विकास, लगानी तयारी तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने दीर्घकालीन रणनीतिबारे प्रस्तुति दिएकी थिइन् । उनले बैंगलोर विश्वविद्यालयबाट बीबीएम अध्ययन गर्नुका साथै स्किनकेयर फर्मुलेसनमा डिप्लोमा हासिल गरेकी छन् ।
विराटनगरबाट सुरु भएको मुनवेक स्किनकेयरलाई नेपालभर विस्तार गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य रहेको आकृतिले बताएकी छन् । प्राकृतिक तथा स्वास्थ्यप्रति सचेत जीवनशैलीमा आधारित उत्पादनमार्फत नेपाली वेलनेस ब्रान्डलाई विश्व बजारमा स्थापित गर्ने दीर्घकालीन योजना रहेको उनले बताइन् ।
क्यापस्टोन एक्सेलेरेटरमा जालानले आफ्नो व्यवसायलाई अझ व्यवस्थित रूपमा विस्तार गर्ने, उत्पादन विविधीकरण गर्ने, रणनीतिक साझेदारी निर्माण गर्ने, नयाँ बजारमा प्रवेश गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी ब्रान्डका रूपमा मुनवेकलाई विकास गर्ने योजनाबारे प्रस्तुति दिएकी थिइन् ।
उनको सहभागिताले विराटनगर तथा कोसी प्रदेशमा विकसित हुँदै गएको नयाँ पुस्ताको उद्यमशीलता, नवप्रवर्तन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुग्ने महत्त्वाकांक्षालाई समेत प्रतिनिधित्व गरेको छ ।
व्यक्तिगत हेरचाह तथा वेलनेसअन्तर्गत मुनवेकले प्राकृतिक स्किनकेयर, हेयरकेयर, सुगन्धित मैनबत्ती तथा कोल्ड–प्रेस्ड तेल उत्पादन गर्ने उदीयमान नेपाली वेलनेस ब्रान्ड हो । प्राकृतिक सामग्री, स्वास्थ्यप्रति सचेत जीवनशैली तथा गुणस्तरीय उत्पादन विकासलाई केन्द्रमा राख्दै कम्पनीले बजारमा आफ्नो छुट्टै ब्रान्ड पहिचान निर्माण गरिरहेको छ ।
मुनवेक स्किनकेयरले यसअघि सार्क ट्याङ नेपालको पहिलो सिजनमा समेत सहभागिता जनाएको थियो ।
