Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २०, २०८३  | अपराह्न ३:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । युक्रेनमा रूसले गरेको पछिल्लो भीषण मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार राजधानी किएभसहित विभिन्न क्षेत्रमा भएको आक्रमणमा ठूलो क्षति पुगेको छ ।

रूसले पछिल्लो समय ब्यालेस्टिक मिसाइलको प्रयोग बढाएपछि युक्रेनले अमेरिकामा निर्मित थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ ।

बिज्ञापन

युक्रेनी वायुसेनाले सम्भावित ब्यालेस्टिक मिसाइल आक्रमणको चेतावनी जारी गरेलगत्तै किएभमा शक्तिशाली विस्फोट भएको एएफपीले जनाएको छ । विस्फोटपछि केही घण्टासम्म राजधानीको आकाशमा कालो धुवाँ देखिएको थियो ।

किएभको सैन्य प्रशासनका अनुसार रूसी मिसाइल र ड्रोन आवासीय भवन तथा विभिन्न गोदाममा खसेका थिए । रूसले जानाजानी नागरिक र नागरिक पूर्वाधारलाई लक्षित गरिरहेको आरोप युक्रेनी प्रशासनले लगाएको छ ।

किएभका चार जिल्लामा भएको आक्रमणपछि लागेको आगलागीमा एक महिलाको मृत्यु भएको र कम्तीमा २४ जना घाइते भएको सैन्य प्रशासनले जनाएको छ । किएभ क्षेत्रका अधिकारीहरूले भने आक्रमणमा १४ जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएको बताएका छन् ।

किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले पछिल्लो आक्रमणलाई ‘अत्यन्त दुःखद् शत्रु आक्रमण’ भएको टिप्पणी गर्नुभएको छ ।

यसअघि शनिबार किएभ र आसपासका क्षेत्रमा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएका थिए । सोही क्रममा युक्रेनी ड्रोन आक्रमणबाट कृष्ण सागरमा रहेको रूसी ठूलो कन्टेनर जहाज डुबेको रिपोर्ट सार्वजनिक भएको थियो ।

पछिल्लो समय युक्रेनले रूसका तेल तथा ग्यास केन्द्रलगायत पूर्वाधारमा आक्रमण तीव्र पारेपछि रूसले पनि ड्रोन र मिसाइल आक्रमण बढाएको बताइएको छ ।

रूसको राजधानी मस्को क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको र १० जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । मस्कोका मेयरले रूसी हवाई सुरक्षाले राजधानीतर्फ आएका कम्तीमा १० वटा ड्रोन नष्ट गरेको दाबी गर्नुभएको छ ।

मस्कोको दक्षिणमा रहेको तुला क्षेत्रका गभर्नरले रूसी रक्षा प्रणालीले रातभर १०७ वटा युक्रेनी ड्रोन खसालेको बताउनुभएको छ । उहाँका अनुसार दुईवटा अपार्टमेन्ट भवनमा क्षति पुगेको र केही स्थानमा आगलागी भएको थियो ।

यसैबीच, युक्रेनले खेरसन सहरमा ड्रोनमार्फत एक व्यक्तिलाई पछ्याएर गरिएको आक्रमणको भिडियो सार्वजनिक गर्दै त्यसलाई नागरिकमाथि गरिएको योजनाबद्ध ‘शिकार’ को संज्ञा दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार पर्यवेक्षकहरूले सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयताकै उच्च स्तरमा नागरिक हताहत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्यालेस्टिक मिसाइल रोक्ने क्षमताको अभावले रूसलाई यस्ता आक्रमण गर्न प्रोत्साहन मिलिरहेको बताउनुभएको छ ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा युक्रेनमै आंशिक रूपमा प्याट्रियट प्रणालीका लागि आवश्यक हतियार उत्पादन गर्ने अनुमति दिन वासिङ्टनसँग आग्रह गरेको जानकारी दिनुभएको थियो ।

रूसले भने शनिबारको आक्रमण सैन्य–औद्योगिक क्षेत्र र त्यससँग सम्बन्धित केन्द्रहरूलाई लक्षित गरिएको दाबी गरेको छ ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa