विराटनगर । सोमबार रातिदेखि परेको अविरल वर्षा, हावाहुरी र चट्याङका कारण विराटनगरका विभिन्न क्षेत्रमा उच्च भोल्टेज विद्युत् लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको छ।
भारी वर्षाका कारण विभिन्न स्थानमा उच्च भोल्टेजका तार चुँडिनुका साथै विद्युत् पोलमा जडान गरिएका लाइनहरूमा समेत क्षति पुगेको छ। त्यसका कारण विराटनगरका धेरै क्षेत्रमा सोमबार रातिदेखि नै विद्युत् आपूर्ति प्रभावित भएको हो।
नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू रातिदेखि नै लाइनहरूको मर्मत तथा विद्युत् सेवा पुनःस्थापनाको कार्यमा खटिएका जनाएको छ। मर्मत कार्य तीव्र रूपमा जारी रहे पनि विद्युत् सेवा पूर्ण रूपमा कहिलेसम्म सुचारु हुन्छ भन्नेबारे हालसम्म निश्चित समय सार्वजनिक गरिएको छैन।
विद्युत् प्राधिकरणले मर्मत कार्य जारी रहेकाले सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेको छ। साथै, चुँडिएका वा झुन्डिएका विद्युत्का तारबाट सुरक्षित दूरी कायम गर्न तथा त्यस्ता तार देखिएमा तत्काल सम्बन्धित निकाय वा नेपाल विद्युत् प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ।
