विराटनगर। सुनसरीको देवानगञ्जमा भएको घटनापछि मोरङ जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार सर्वपक्षीय बैठक आयोजना गरेको छ।
मोरङ व्यापार संघको सभाहलमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारीले राजनीतिक दल, सामाजिक संघसंस्था, व्यवसायी तथा सरोकारवालाहरूलाई क्रमशः आफ्नो धारणा राख्न समय दिएका थिए।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका सभापति भारत कँडेलले प्रारम्भमा सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्लामा सद्भाव र्याली आयोजना गर्नुपर्ने धारणा राखेका थिए। तर त्यसपछि उनले कानेपोखरी–पथरी सडकखण्डमा धुलो र हिलोका कारण सर्वसाधारणलाई समस्या भएको, दुर्घटनाको जोखिम बढेको भन्दै पानी छर्किने व्यवस्था गर्नुपर्ने र हिलो भएको समयमा गिट्टीको ब्यावथा गर्नु पर्ने मोरङका प्रहरी प्रमुखलाई माग राखे । साथै, उर्लाबारी क्षेत्रमा लागूऔषध सम्बन्धी गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसतर्फ पनि प्रहरीको ध्यानाकर्षण गराए।
धार्मिक तथा सामाजिक सद्भाव जस्तो संवेदनशील विषयमा केन्द्रित बैठकमा सडकको धुलो र पानी व्यवस्थापनको विषय उठाइएपछि हलमा उपस्थित केही सहभागीबीच आपसमा मुखामुख गर्दै मुस्कुराएको दृश्य देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
बैठकपछि केही सहभागीहरूले यस्तो प्रकृतिको बैठकमा मुख्य एजेन्डामै केन्द्रित भएर धारणा राख्नुपर्ने टिप्पणी गरेका थिए। यद्यपि, कँडेलले उठाएका सडक सुरक्षा र लागूऔषध नियन्त्रणका विषय पनि सार्वजनिक सरोकारका मुद्दा भएकाले त्यसलाई फरक सन्दर्भमा छलफल गर्न सकिने धारणा समेत केही सहभागीले व्यक्त गरेका छन्।
