काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अध्यक्षतामा बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सुरक्षा अवस्थाबारे छलफल हुने कार्यक्रम रहेको छ।
विशेषगरी सुनसरीको देवानगञ्ज क्षेत्रमा उत्पन्न तनाव, त्यसपछि सुरक्षा निकायले सञ्चालन गरेको विशेष सुरक्षा अभियान तथा पछिल्लो सुरक्षा अवस्थाबारे बैठकमा विस्तृत समीक्षा हुने अपेक्षा गरिएको छ।
सरकारले घटनापछि प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाएको छ।
यसअघि प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गर्दै आएको छ।
देवानगञ्ज बजारसहित प्रभावित क्षेत्रको अवस्थालाई क्रमशः सामान्य बनाउने प्रयास जारी रहेको सरकारी अधिकारीहरूको भनाइ छ।
आजको मन्त्रिपरिषद् बैठकले सुनसरी घटनाको समग्र समीक्षा गर्दै शान्ति–सुरक्षा थप प्रभावकारी बनाउने, आवश्यक प्रशासनिक तथा सुरक्षा सम्बन्धी निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ। साथै, बैठकमा अन्य समसामयिक राष्ट्रिय एजेन्डामाथि पनि छलफल हुने जनाइएको छ।
