काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरूले संवेदनशील विषयमा पनि सरकारले सहकार्य र संवादलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले राज्यले सबै दलसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा सरकार त्यसबाट टाढिन खोजेको धारणा राखेका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले शान्ति र सद्भाव कायम गर्ने विषयमा सरकारले गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेलाई ध्यानाकर्षण गराइएको बताए।
उनले यस्तो अवस्थामा सरकारले नै संवाद र छलफलको पहल गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। “सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटिन्छ, फिल्डमा भेटिँदैन। सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ। सैन्य ढंगले मात्रै समस्याको समाधान हुँदैन भनेर हामीले भनेका छौँ,” आङदेम्बेले भने।
यस्तै, एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले दलीय संवाद र सहकार्यको वातावरण बनाउन नसकेको विषयमा बैठकमा ध्यानाकर्षण गराइएको बताए।
“यस्तो संवाद सरकार आफैंले गर्नुपर्ने थियो। कम्तीमा सम्बन्धित विभागीय मन्त्री उपस्थित हुनुपर्ने थियो। बैठकमा सरकारको प्रस्तुतिले राज्य सञ्चालनप्रतिको गम्भीरता देखाउँछ। सर्वदलीय बैठकबाट सबै दलले संयुक्त रूपमा शान्ति र सद्भाव कायम गर्न अपिल गरेका छौँ,” पोखरेलले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाइएको बताए। “हामीले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे बैठकमा कुरा उठायौँ। अहिलेको प्राथमिकता शान्ति र सद्भाव कायम गर्नु भएकाले त्यसका लागि सबै दल मिलेर प्रयास अघि बढाउने सहमति भएको छ,” लिङ्देनले भने।
