विराटनगर — नेपाल भ्रमणमा रहेका अमेरिकी विद्यार्थीहरूको प्रतिनिधिमण्डलसँग उद्योग संगठन मोरङले पूर्वी नेपालको आर्थिक अवस्था, औद्योगिक विकास, लगानीका अवसर र निजी क्षेत्रका चुनौतीबारे अन्तरक्रिया गरेको छ।
लिबर्टी इन्टरनेशनल कार्यक्रमअन्तर्गत नेपाल आएका विद्यार्थीहरूसँग आयोजित कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पूर्वी नेपाल उद्योग, व्यापार र लगानीका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै निजी क्षेत्रको विकासका लागि स्थिर, पूर्वानुमानयोग्य र लगानीमैत्री नीतिको आवश्यकता रहेको बताए ।
संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले पूर्वी नेपालको औद्योगिक विकास, उत्पादन तथा निर्यातका सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रले भोगिरहेका समस्याको समाधानका लागि नीतिगत सुधार अपरिहार्य रहेको धारणा राखे ।
लिबर्टी इन्टरनेशनलकी ट्रेनिङ लिड मार्या लोन्डनले अमेरिकी विद्यार्थीहरूलाई नेपाली समाज, संस्कृति, इतिहास तथा आर्थिक रूपान्तरणका विविध पक्षसँग प्रत्यक्ष रूपमा परिचित गराउने उद्देश्यले नेपाल भ्रमणको आयोजना गरिएको बताइन् । स्थानीय उद्योगी–व्यवसायी तथा नेतृत्वसँगको अन्तरक्रियाले विद्यार्थीहरूको सिकाइलाई अझ व्यवहारिक र प्रभावकारी बनाउने उनको भनाइ थियो ।
उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन कावराले यस्ता भ्रमणले अन्तर्राष्ट्रिय विद्यार्थीहरूबीच नेपालप्रतिको बुझाइ विस्तार हुनुका साथै भविष्यमा व्यापार, लगानी, अनुसन्धान र शैक्षिक सहकार्यका नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।
कार्यक्रम सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटिभका कार्यकारी निर्देशक वसन्त अधिकारीले नेपाल र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीच ज्ञान, अनुभव तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
अन्तरक्रियाका क्रममा अमेरिकी विद्यार्थीहरूले नेपालको आर्थिक संरचना, निजी क्षेत्रको भूमिका, लगानीको वातावरण तथा विकासका सम्भावनाबारे उद्योग संगठनका पदाधिकारीसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न जिज्ञासा राखेका थिए ।
