विराटनगर । केही वर्षको अन्तरालमा बुवा र भाइ गुमाएकी विराटनगरकी कसिस कामत अहिले आमाको उपचार खर्च जुटाउन कठिन अवस्थामा पुगेकी छन् । विराटनगरस्थित कृषि भवन पछाडि डेरामा बस्दै आएकी कसिसकी आमा अनु शर्मा कामतको उपचारका लागि आर्थिक अभाव भएपछि उनीहरुले सहयोगी हातहरुको प्रतिक्षा गरिरहेका छन ।
यसैबीच, अन्नपूर्ण राठी केबलका तर्फबाट कामत परिवारलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । राठी केबलका प्रबन्ध निर्देशक श्याम राठीले पीडित परिवारको निवासमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
अनु शर्मा कामतले केही महिनाअघि संक्रमणका कारण दायाँ खुट्टा गुमाएकी थिइन् । उपचारका लागि आवश्यक खर्च जुटाउन कठिनाइ भएपछि उनको अवस्था थप समस्याग्रस्त बनेको परिवारले जनाएको छ । यसअघि पनि राठी परिवारले उनलाई ह्विलचेयर र बैसाखी उपलब्ध गराएर सहयोग गरेको थियो ।
हाल आमा–छोरी मात्र रहेको कामत परिवार आर्थिक अभावसँग संघर्ष गरिरहेको छ । अनु शर्मा कामतको नियमित औषधोपचार तथा थप उपचारका लागि आवश्यक खर्च जुटाउन कठिन भइरहेको छ ।
छोरी कसिस कामतले आमाको उपचारलाई निरन्तरता दिन सहयोगी मन भएका व्यक्ति तथा संघ–संस्थासँग आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । सहयोग गर्न चाहनेले ई–सेवा नम्बर ९८१९४६५६६९ मा रकम पठाउन सकिने उनले बताएकी छन् ।
