विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौं जाने क्रममा स्रोत खुल्न नसकेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित सरकारी कार्यालयका एक प्रमुख पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ छन् । दोलखाको भीमेश्वर नगरपालिका–९ स्थायी ठेगाना भएका तामाङ बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला विमानस्थलबाट पक्राउ परेका हुन् ।
नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा नगद फेला परेको प्रहरीले जनाएको छ । बरामद रकममा एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट रहेको बताइएको छ ।
रकमको स्रोतबारे सोधपुछ गर्दा तामाङले विश्वसनीय विवरण दिन नसकेपछि विमानस्थल सुरक्षा इकाइले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाइएको स्रोतले जनाएको छ ।
प्रहरीले बरामद रकमको स्रोत, त्यसको प्रयोजन र सम्बन्धित आर्थिक कारोबारबारे अनुसन्धान गरिरहेको बताइएको छ । तामाङले भने प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम आफन्तको भएको र काठमाडौं लैजान लागेको बताएका छन् । उनको दाबी र रकमको वास्तविक स्रोतबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
स्रोत नखुलेको ठूलो रकमसहित सरकारी अधिकारी पक्राउ परेको घटना भए पनि जिल्ला प्रहरी कार्यालय मोरङले हालसम्म यसबारे औपचारिक विज्ञप्ति वा पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गरेको छैन ।
घटनालाई लिएर विभिन्न अड्कलबाजी भइरहे पनि आर्थिक वर्षको अन्त्यसँग जोडिएका कमिसन वा अन्य आर्थिक अनियमिततासम्बन्धी दाबीको आधिकारिक पुष्टि भएको छैन । अनुसन्धानबाट प्राप्त निष्कर्षपछि मात्र रकमको वास्तविक स्रोत र घटनाको प्रकृति स्पष्ट हुने प्रहरी स्रोतले जनाएको छ ।
