Premier Cables
Premier Steel

विराटनगर समाचार

विराटनगर महानगरको कर्मचारी सरुवामा विवाद, पाँच वडाले फर्काए राजस्व कर्मचारी

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०७, २०८३  | साँझ ५:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले वडागत रूपमा गरेको राजस्व कर्मचारीको सरुवा विवादमा परेको छ। महानगरपालिकाले साउन १ गतेदेखि नयाँ कार्यस्थलमा खटाएका कर्मचारीलाई पाँच वटा वडा कार्यालयले हाजिर गराउन अस्वीकार गर्दै फिर्ता पठाएका छन्।

महानगरपालिकाका अनुसार लामो समयदेखि एउटै वडामा कार्यरत राजस्व असुलीमा संलग्न कर्मचारीलाई फेरबदल गर्दै नयाँ कार्यस्थलमा खटाइएको थियो। तर महानगरपालिकाका १९ वडामध्ये वडा नम्बर ३, ४, ६, १७ र १८ ले नयाँ कर्मचारीलाई हाजिर हुन नदिई फिर्ता पठाएका हुन्।

बिज्ञापन

महानगरपालिकाका सूचना अधिकारी अर्जुन थपलियाले साउन १ गतेदेखि सबै वडाका राजस्व कर्मचारीको कार्यस्थल परिवर्तन गरी सम्बन्धित वडा कार्यालयमा पठाइएको बताए। ‘सबै वडाका कर्मचारीको फेरबदल गरेर नयाँ कार्यस्थलमा पठाएका थियौँ। तर वडा नम्बर ३, ४, ६, १७ र १८ बाट कर्मचारी फिर्ता गरिएको छ,’ उनले भने।

विराटनगर–४ का वडाध्यक्ष जितन थापाले कर्मचारी सरुवा तथा छनोट प्रक्रियाबारे वडा कार्यालयसँग पूर्वसमन्वय नभएको बताए। उनका अनुसार गोला प्रथाबाट कर्मचारी छनोट गरी वडामा पठाइएको जानकारी आफूले पाएका छन्।

‘यस विषयमा बुझ्न प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्न खोज्दा उहाँ बिदामा हुनुहुँदो रहेछ। उहाँ फर्किएपछि छलफल गर्छौँ,’ थापाले भने, ‘हाम्रो वडामा जो कर्मचारी आए पनि काम गर्न समस्या छैन। तर कर्मचारी व्यवस्थापनजस्तो विषयमा वडा कार्यालयसँग समन्वय र सल्लाह आवश्यक हुन्छ।’

वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले आफ्नो वडाको नियमित काम प्रभावित नभएको बताए। उनले कर्मचारी सरुवाको विषयमा भने थप प्रतिक्रिया दिन चाहेनन्।

वडा नम्बर १८ का अध्यक्ष जितेन्द्र साहले भने आफ्नो वडामा कर्मचारी अभाव रहेको बताए। उनका अनुसार वडा कार्यालयले दुई जना कर्मचारीको माग गरेको छ। ‘प्रमुख प्रशासकीय अधिकृत बाहिर हुनुहुन्छ। उहाँ आएपछि छलफल गरेर आवश्यक निर्णय लिन्छौँ,’ उनले भने।

महानगरपालिकाको प्रशासनिक निर्णयअनुसार खटाइएका कर्मचारीलाई वडा कार्यालयले हाजिर हुन नदिएपछि महानगर र वडा कार्यालयबीच कर्मचारी व्यवस्थापनको विषयमा समन्वयको अभाव देखिएको छ। स्थानीय तहमा प्रशासनिक निर्णय कार्यान्वयन तथा सेवा प्रवाह प्रभावकारी बनाउन महानगरपालिका र वडा कार्यालयबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa