विराटनगर । विराटनगर महानगरपालिका वडा नं १६ दरहियामा निर्माण भइरहेको सडक गुणस्तरहीन भएको भन्दै स्थानीयवासीले सडक निर्माण अवरोध गरेका छन ।
नवदुर्गा निर्माण सेवाले ८ लाख ९९ हजार ८ सय ६७ रुपैया ६४ पैसामा दानीको घर देखी पूर्व कलभर्टसम्मको बाटो निर्माण गर्ने ठेक्का लिएर असार ४ गते देखी २४ गतेसम्म २० दिनमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेर काम अघि बढाएको थियो ।
तर असार मशान्त भित्र नै काम सम्पन्न गर्नुपर्ने दबाबका कारण पानी र झरीका विचमा नै उनले सडकको दुबै तर्फ रिटेटिङवाल निर्माण गर्दा कम गुणस्तरको काम गरेको भन्दै स्थानियले विरोध गरेर काम अवरोध गरेका छन । काम अवरोध भएपछि अहिले स्थानिय, बालबालिकालाई उक्त बाटो प्रयोग गरेर हिडडुल गर्न र विद्यालय जान आउन समेत समस्या भएको स्थानिय नविन मण्डलले बताए ।
उनका अनुसार हिलोमा नै खनेर हिलोनै नसुकी सिमेन्टी, बालुवा घोलेर दुई नम्बर इटा प्रयोग गरि काम भइरहेको देखेपछि आफूहरुले विरोध गर्दै गुणस्तरिय काम गर्न ठेकेदार र वडाध्यक्षलाई जानकारी गराएको हो । तर कम समय सिमाभित्र हतार हतार काम गर्नु परेको र मौसम अनुकुल नहुदा काम बिचैमा रोकीएको उनले जानकारी दिए ।
बाटोको दुबै तर्फ १० इंचको रिटेनिङ वाल निर्माण गर्दा सिधा निर्माण गर्नुपर्नेमा बाङ्गो टिङ्गो भएको र त्यसमा कमसल सामग्रीको प्रयोग गरेको आरोप उनले लगाएका छन । मण्डलका अनुसार निर्माण कार्य बीचमै रोकिँदा सडक हिलोमय बनेको छ भने पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई आवतजावत गर्न निकै कठिन भइरहेको छ । विशेषगरी विद्यालय जाने बालबालिका र विद्यार्थीहरू हिलो मा नै हिडेर विद्यालय पुग्न बाध्य छन् ।
ठेकेदार धर्मदेव साहका अनुसार निर्माणस्थलमा स्थानीय केही व्यक्तिबाट पटक–पटक अवरोध, मिस्त्री तथा मजदुरमाथि गालीगलौज र अभद्र व्यवहार हुने गरेपछि कामदारहरू निर्माणस्थलमा जानै नमान्ने अवस्था सिर्जना भएपछि काम रोकीएको हो । त्यहाका एक दुई जना स्थानीय युवाले केही रकम मागेको र नदिएपछि निर्माण कार्यमा बाधा पुर्याएको उनले आरोप लगाए ।
ठेकेदार साहका अनुसार स्थानिय यूवाको अवरोधको कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको र निरन्तरको अवरोधका कारण तोकिएको समयसीमाभित्र काम सम्पन्न हुन नसकेको जानकारी दिए । उनले निर्माण कार्य रोकिएको र अब महानगर अथवा वडा कार्यालयले पुन निर्माण कार्य गर्नु भन्ने आदेश दिए पछि मात्र कार्य आगाडी बढाउने जानकारी दिए ।
विराटनगर वार्ड नं १६ का वडा अध्यक्ष उद्धवकुमार भुजेलका अनुसार विकास निर्माण कार्यमा स्थानीयवासीले त्यहाँ काम गर्ने मजदुरहरूलाई अभद्र व्यवहार गर्ने र काम गर्न अवरोध गरेका कारण काम अघि बढ्न नसकेको बताए ।
स्थानीय गंगा मण्डल निर्माणस्थलमा पुगेर सडक निर्माण कार्य शान्तिपूर्ण रूपमा सञ्चालन हुन दिन स्थानीय युवालाई आग्रह गरेका थिए । त्यसको केही समयपछि दरहियास्थित कत्यानी मन्दिर परिसरमा ५–६ जना युवाले गंगा मण्डललाइ निर्घात कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको अध्यक्षले बताए ।
विवाद बढेपछि निर्माण कार्य ढिलो भएको अध्यक्षले स्वीकार गरे । निर्माण स्थलमा अनुगमनको क्रममा समेत आफूहरुलाई स्थानियले दुब्र्याबहार गरेको बताए । करिब ६ सयले उक्तबाटो दैनिक प्रयोग गर्ने गरेका छन ।
