विराटनगर । मोरङ प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगर बस्ने ५९ वर्षीय लालकिशोर यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १० बजेको समयमा विराटनगर–१८ झटियाही बुधनगरस्थित यादवको कोठामा लागूऔषध लुकाइराखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा यादवको साथबाट कटुवा पेस्तोल एक थान र लागूऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार यादवको साथबाट हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम र लागूऔषध गाँजा ४८ मिलिग्राम बरामद भएको छ । पक्राउ परेका यादवलाई कटुवा पेस्तोल तथा लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
