काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकले घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २ हजार ५७६.११ विन्दुमा पुगेको हो।
कारोबारका क्रममा दिउँसो १२:१० बजे नेप्से २ हजार ५४७ विन्दुसम्म झरे पनि त्यसपछि बजारले लय समात्दै अन्ततः हरियालीमा कारोबार बन्द गरेको छ। अघिल्लो दिन नेप्से २ हजार ५७० विन्दुमा झरेको थियो, जुन मंसिर ४ यताकै न्यून स्तर थियो।
मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो कारोबार रकम वैशाख ३ गतेपछि सबैभन्दा उच्च हो। त्यस दिन ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो।
आज १६४ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। अधिकांश समूहगत परिसूचक हरियालीमा रहे। व्यापार समूह सबैभन्दा धेरै १.४७ प्रतिशतले बढ्दा बैंकिङ ०.०९, विकास बैंक ०.२९, वित्त ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, लघुवित्त ०.०७, निर्जीवन बीमा ०.२० तथा अन्य समूह ०.१५ प्रतिशतले उकालो लागेका छन्। उत्पादन तथा प्रशोधन समूह भने ०.१८ प्रतिशतले घटेको छ।
व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्तको सेयर मूल्य ९.१९ प्रतिशत र भगवती हाइड्रोपावरको ५.७७ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै मूल्य वृद्धि हुने सूचीमा विभिन्न बैंकका दीर्घकालीन ऋणपत्र पनि परेका छन्।
यता सामुदायिक लघुवित्तको सेयर मूल्य ८.१० प्रतिशतले घट्दा स्वाबलम्बन लघुवित्त ४.४७ प्रतिशत र सुपर खुदी हाइड्रोपावर ३.६५ प्रतिशतले ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा पनि बैंकका ऋणपत्रहरू अग्रस्थानमा रहे। कुमारी बैंक डिबेन्चर–९०, एनआईएमबी डिबेन्चर–९०, एसबीआई डिबेन्चर–९०, एभरेस्ट बैंक डिबेन्चर–९१ तथा कृषि विकास बैंक डिबेन्चर–८३ मा सबैभन्दा बढी कारोबार भएको छ।

