नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । धनकुटाको प्रमुख दाहसंस्कार स्थल मुलघाटमा सोमबार वर्षासँगै तमोर नदीमा आएको आकस्मिक बाढीले जलिरहेको चिता बगाएको छ। नदीको बहाव अचानक उच्च हुँदा दाहसंस्कार कार्य केही समय प्रभावित बनेको थियो।
धनकुटा नगरपालिका–६ आत्माराका गौरी रोक्काको अन्तिम संस्कार भइरहेका बेला नदीमा पानीको सतह ह्वात्तै बढेको थियो। प्रत्यक्षदर्शी एवं त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार सो समयमा मुलघाटमा चारवटा शवको दाहसंस्कार भइरहेको थियो। सुरुमा नदीको बहाव सामान्य नै भए पनि केही समयमै माथिबाट ठूलो बाढी आएपछि हेर्दाहेर्दै ७५ प्रतिशत जलिसकेको रोक्काको चितालाई बगाएर नदीको बीच भागमा पुर्याएको पोख्रेलले बताए। बाढीले अर्को एउटा चितालाई समेत पल्टाएको थियो। चिता बगाएपछि मलामीहरूले तत्कालै तदारुकता देखाउँदै शवलाई सुरक्षित स्थानमा सारेका थिए। उनीहरूले नदीभन्दा माथिल्लो भागमा नयाँ चिता बनाएर दाहसंस्कार सम्पन्न गरे।
मुलघाट धनकुटाको मुख्य मसानघाट भए पनि वर्षायाममा यो क्षेत्र सधैँ असुरक्षित रहने गरेको छ। स्थानीयलाई सुरक्षित रूपमा दाहसंस्कार सेवा दिन केही वर्षअघि निर्माण गरिएको डिजेलबाट चल्ने आधुनिक दाहसंस्कार गृह बाढीले क्षतिग्रस्त बनाएपछि हाल अलपत्र छ। आधुनिक शवदाह गृह बन्द हुँदा स्थानीय बासिन्दा जोखिम मोलेर नदी किनारमै खुला आकाशमुनि दाहसंस्कार गर्न बाध्य छन्। विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको टोलीले सो क्षेत्रमा बेस क्याम्प खडा गरे पनि नदीको अनियन्त्रित बहाव र भौगोलिक विकटताका कारण बर्सेनि यस्ता जोखिमपूर्ण घटना दोहोरिने गरेका छन्। स्थानीय बासिन्दाले सुरक्षित दाहसंस्कारका लागि स्थायी र सुरक्षित संरचना निर्माण गर्न वर्षौंदेखि माग गर्दै आए पनि हालसम्म सरोकारवाला निकायबाट यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन।
